राष्ट्रिय सभा उपनिर्वाचनका लागि पाँच दल दर्ता

admin

काठमाडौं, १६ वैशाख :६ जेठमा हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि पाँच वटा दल दर्ता भएका छन् । बागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी दर्ता भएका हुन् ।

आयोगले बागमती प्रदेशतर्फ रिक्त एक सदस्य पदका लागि हुने उपनिर्वाचनका लागि बिहीबार राजनीतिक दल दर्ता टुङ्ग्याउँदै निर्वाचन चिन्ह, दलको क्रम निर्धारण तथा मतदाता नामावली टुङ्गाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जसअनुसार उपनिर्वाचन प्रयोजनका लागि एमालेले सूर्य चिन्ह पाएको छ भने मत पत्रमा क्रम सङ्ख्या एक निर्धारण भएको छ । यसै गरी काँग्रेसले चिन्ह रुख पाएको छ भने क्रम सङ्ख्या दुई निर्धारण भएको छ ।

यस्तै माओवादी केन्द्रले गोलाकारभित्रको हँसिया हथौडा चिन्ह पाएको छ भने क्रम सङ्ख्या तीन निर्धारण भएको छ । यसै गरी राप्रपाले चिन्ह हलो पाएर मतपत्रको क्रम सङ्ख्या चार पाएको छ भने नेमकिपालाई मादल चिन्ह पाएर मतपत्रको क्रम सङ्ख्या पाँच निर्धारण गरिएको छ ।

त्यस्तै आयोगले निर्वाचनका कूल मतदाताको सङ्ख्या पनि टुङ्गो लगाएको छ । आयोगका अनुसार बागमती प्रदेशको राजधानी हेटौँडामा मतदान हुने छ । मतदानका लागि प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाता रहने जनाएको छ । आयोगले स्वीकृत मतदाता नामावली २१ वैशाखमा निर्वाचन अधिकृतको कार्यालय हेटौँडामा प्रकाशन गर्ने जनाएको छ ।

प्रतिक्रिया