भारतीय जनता पार्टीलाई ठूलो झट्का

admin

काठमाडौं, २२ बैशाख : भारतको उत्तर प्रदेशका केही जिल्लामा भएको पञ्चायत चुनावमा नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई ठूलो झट्का लागेको छ । हिन्दु एजेन्डामार्फत राजनीति गरिरहेको मोदीको दल र त्यसमाथि मुख्यमन्त्री योगी आदित्यनाथको प्रदेशमा भाजपाको हारलाई निकै महत्वका साथ हेरिएको छ । इण्डियन एक्सप्रेसका अनुसार अयोध्या, काँसी र मथुरामा भाजपाले ठूलो हार बेहोरेको छ ।

अयोध्याका ४० जिल्ला पञ्चायत सिटमध्ये भाजपाले जम्मा ८ सिटमा मात्रै जित हात पारेको छ । विपक्षी समाजवादी दलले २२ सिटमा जितेको छ । वाराणसीमा पनि ४० सिटमध्ये भाजपाले जम्मा ८ सिट जितेको खबरमा उल्लेख छ । मथुरामा पनि मायावतीको दल बीएसपीले १२ सिटमा जित हात पार्दा भाजपाले ८ सिट जितेको छ । भाजपाले पूरै उत्तर प्रदेशमा पार्टीलाई सफलता मिले पनि अयोध्यामा सोचेअनुसारको सफलता नपाएको बताएको छ ।

भाजपाका जिल्ला अध्यक्ष दिवाकर सिंहले अयोध्याका हरेक विधानसभा क्षेत्रमा भाजपाका उम्मेद्वारले जिते पनि ती क्षेत्रकै पञ्चायत चुनावमा आफ्ना उम्मेद्वारले हार्नु दुस्खको कुरा भएको बताएको बीबीसीले जनाएको छ । समाजवादी दलका नेता अवधेश प्रसादका अनुसार ग्रामीण क्षेत्रमा किसानको अवस्था दयनीय रहेको र भाजपाको हिन्दु एजेन्डालाई मात्रै नागरिकले भोट दिन अस्विकार गरेका छन् ।

प्रतिक्रिया