एम्बुलेन्स बनाइयो मेयर-उपमेयर चढ्ने गाडी

admin

रूपन्देही, २३ बैशाख : रूपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । मेयर बासुदेव घिमिरे र उपमेयर जगेश्वरीदेवी चौधरीले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाई बिहीबार बिहानदेखि कोरोना संक्रमित र अन्य बिरामीलाई अस्पताल ओसार पसारमा प्रयोग गरेका छन् ।

नगरपालिकाभित्रै कोरोनाका गम्भीर बिरामीको संख्या थपिँदै गएकाले उनीहरूलाई अस्पताल लैजान एम्बुलेन्स अभाव हुन थालेपछि यो निर्णय गरिएको मेयर घिमिरेले बताए । मेयर घिमिरेको लु १ झ ३६० नम्बर र उपमेयर चौधरीको लु १ झ ३२६ नम्बरको स्कर्पियो गाडीमा अक्सिजन सिलिन्डर जडान गरी एम्बुलेन्स सेवा सरहको बनाएर सर्वसाधारण बिरामी ओसारपसार गर्न लागिएको हो ।

यी गाडीमा सिट र अक्सिजन सिलिन्डर व्यवस्थापन भइरहेको र बिहीबारदेखि नै एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याइएको उनले बताए । उनले आफुहरु बरु स्कुटी वा साइकल मै हिँड्ने उनले बताएका छन् । दैनिक दुई सय जनासम्म संक्रमित थपिँदै गइरहेको तिलोत्तमामा जिल्लामै बुटवल उपमहानगरपछि धेरै संक्रमित छन् ।

यस्तै लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा छ । त्यसमा पनि बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिका थप जोखिममा छ । बुटवलमा (हिजो) बुधबार दिउँसो साढे ४ बजेसम्म १४६ महिला र १८६ पुरुषसहित ३३२ जना संक्रमित छन् भने तिलोत्तमामा ७४ महिला र ८४ पुरुषसहित १५८ जना संक्रमित छन् । बुधबार साँझसम्म जिल्लाभर ७९७ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया