मकवानपुर, २३ बैशाख : नेपाल कम्युनिस्ट पार्टी (एमाले) वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेश सभा सदस्यमा निर्वाचित निरौला एमालेको काठमाडौं जिल्ला कमिटीका सचिवसमेत छन् । निरौलालाई मुख्य सचेतकमा मनोनयन गरिएको जानकारी प्रदेश सभा सचिवालयलाई बिहीबार दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार निरौलालाई यही बैशाख १७ गते नै मुख्य सचेतकमा मनोनयन गरिएको थियो । निरौलालाई एमाले वाग्मती प्रदेशका संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेको जनाइएको छ ।
एमालेका तत्कालीन मुख्य सचेतक केशवराज पाण्डे प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भएपछि रिक्त पदमा निरौलालाई चयन गरिएको प्रदेश सभा सचिवालयलाई दलले बुझाएको पत्रमा उल्लेख छ । पाण्डेअघि अहिलेका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल मुख्य सचेतक थिए ।