वाइडबडीले एकपटकमा चार सय सिलिन्डर मात्रै ल्याउन सक्ने, चीनबाट ल्याउन समस्या

admin

काठमाडौं, २४ बैशाख : चीनले नेपाललाई सहयोग स्वरुप दिने अक्सिजन सिलिन्डर ल्याउन समस्या देखिएको छ । नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर चीनले सहयोग गर्ने भनेकोमा पहिलो चरणमा तीन हजार पाँच सय थान सिलिन्डर दिने पक्का भइसकेको छ । तर यी सिलिन्डर नेपालमा ल्याउन समस्या भएको छ ।

विशेषगरी सिलिन्डर ओसार्न ठूला र धेरै तौल भएका सामान ओसार्ने कार्गो जहाजको आवश्यकता पर्ने भएकाले ढुवानीमा समस्या देखिएको हो । नेपालकै जहाज पठाएर खेपररखेपमा सिलिन्डर ल्याउने या चीनकै कार्गो जहाजलाई भाडा तिरेर एकै पटकमा अलि धेरै सिलिन्डर ल्याउने भन्ने विषय टुङ्गो लागेको छैन ।

यस विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सिलिन्डर बोक्ने जहाजको विषयमा स्वास्थ्य र पर्यटन मन्त्रालयले निर्णय गर्ने जानकारी दिए । यस्तै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सिलिन्डर ल्याउने सबै चाँजोपाँजो मिलाउने मन्त्रालय परराष्ट्र मन्त्रालय नै भएको जानकारी दिए ।

नेपाली जहाज भन्दा चिनियाँ कार्गो जहाजबाट सिलिन्डर ल्याउँदा सस्तो पर्ने भएकाले उतैबाट जहाज ल्याउने विषयमा कुरा भइरहेको सङ्केत आफूले पाएको स्वास्थ्यमन्त्री त्रिपाठीको भनाइ छ । यसै विषयमा संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आफू कोरोना संक्रमण भएर आराम गरिरहेकाले जानकार नभएको प्रतिक्रिया दिएका छन् ।

यस्तै तत्कालका लागि चार सय थान अक्सिजन सिलिन्डर ल्याउन नेपाल एअरलाइन्सको जहाज चीन पठाउने तयारी सुरु भएको छ । अत्यावश्यक भइसकेकाले सुरुको चरणमा सिलिन्डर ल्याउन वाइडबडी जहाज चीन पठाउने विषयमा अर्थ मन्त्रालयले नेपाल वायुसेवा निगमसँग दररेटको प्रस्ताव मागेको छ ।

मन्त्रालयको आग्रह अनुसार आफूहरुले वाइडबडीको दररेट बुझाएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिएका छन् । वाइडबडीले एक पटकमा जम्मा चार सय सिलिन्डर बोक्न सक्छ । अक्सिजन सिलिन्डरले धेरै ठाउँ नओगट्ने तर गह्रौँ हुनेभएकाले कार्गो जहाज र नेपाल एअरलाइन्सको वाइडबडीमा ल्याउनुमा खासै फरक नहुने पौडेलको भनाइ छ ।

एउटा खाली सिलिन्डर नै ७० किलो हुने हुँदा एकपटकमा चार सय सिलिन्डर मात्रै ल्याउन सकिने, कार्गो जहाजमा ल्याउनु र आफ्नैमा ल्याउनु खासै फरक नपर्ने भएकाले सरकारले जिम्मेवारी दिएमा ल्याउन तयार रहेको पौडेलले बताए ।

प्रतिक्रिया