कोरोनाबाट निको हुने घरेलु उपाय सेयर गरी सकारात्मक सन्देश दिउ : मन्त्री गुरुङ

admin

काठमाडौं, २४ बैशाख : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हरेक नागरिकको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्न सरकार गम्भीर र सम्वेदनशील रहेको बताएका छन् । शुक्रबार छैठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले कोरोना भाइरसबाट बच्न सरकारले जारी गरेको आदेश, अपिल र अनुरोधलाई इमान्दारपूर्वक पालना गर्न पनि आह्वान गरे ।

मन्त्री गुरुङले कोरोना महमारी बढेसंगै गुनासो पनि बढेको भन्दै अक्सिजन लगाएतका अन्य व्यवस्थापन गर्न सरकार तीव्र रुपले लागेको बताए । गुरुङले पत्रकारहरूले अहिलेको अवस्थामा समाजबाट कोरोनामुक्त गर्न सकारात्मक भूमिका खेल्नुपर्ने बताए । उनले कोरोनाको महामारीमा सामाजिक सञ्जालको प्रयोग गर्दै कोरोनाबाट निको हुने घरेलु उपायहरू सेयर गरेर सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा मन्त्रालयले वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई प्रदान गर्ने घोषणा गरेको छ । जसअनुसार वरिष्ठ पत्रकार सम्मान २०७६ बाट स्व. सुकदेव नेपाल र हर्ष सुब्बा पुरस्कृत भएका छन् भने वरिष्ठ पत्रकार सम्मान २०७७ बाट रघु मैनाली र शार्दूल भट्टराई भएका छन् । उक्त पुरस्कारको राशि जनही २ लाख रहेको छ ।

त्यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट इन्द्र बुढा, मात्रिका पौडेल, संगिता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर विक र शीतल साह पुरस्कृत भएका छन् भने राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट दिलीपकुमार थापामगर, दीपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेल पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशि जनही एक लाख रहेको छ ।

प्रतिक्रिया