नेपाल-खनाल पक्षका सांसदद्वारा राजीनामाको तयारी, सुरेन्द्र पाण्डेसहित पाँच प्रभावशाली नेता ओली क्याम्पमा

admin

काठमाडौं, २६ बैशाख : नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकोले राजीनामा दिनुको विकल्प नभएको नेपाल-खनाल पक्षका सांसदहरुको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सोमबार संसदबाट विश्वासको मत लिने सम्भावना छ, त्यसअघि नै सकभर सबै, नभए ओलीलाई विश्वासको मत नपुग्ने र अरु दलको सरकार बनाउन सांसद संख्या पुग्नेगरी राजीनामा दिने एक नेताले बताएका छन् । सर्वोच्चको फैसला अनुसार ओलीले पार्टी चलाउने सम्भावना निकै कम रहेकाले आफूहरु योजनाबाट पछि हट्ने सम्भावना पनि नदेखिएको नेता भीम रावलको भनाइ छ ।

ओलीले माधव नेपालसहितका नेतालाई कारबाही गरिसकेका छन् भने महाधिवेसनबाट निर्वाचित भएर आएका पदाधिकारी हटाइसकेका छन् । माधव नेपाल समूहले पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउन माग गर्दै आएको छ । ओलीले कारबाही फिर्ता र पार्टीलाई पहिलेकै अवस्थामा फर्काउन अस्वीकार गर्दै आएका छन् । माधव नेपाल समूहका सांसदले राजीनामा दिएमा सजिलै अर्को सरकार बन्ने सम्भावना देखिएको छ ।

अहिले प्रतिनिधिसभामा २ सय ६७ सांसद संख्या कायम छ । तीमध्ये नेपाल-खनाल समूहका २० जनाले मात्रै राजीनामा दिएमा पनि २ सय ४७ सदस्य कायम रहनेछ । त्यसपछि सरकार बन्न एक सय २४ जना सांसद भएपनि पुग्छ । नेपाली कांग्रेसका ६१ र माओवादी केन्द्रका ४८ गरेर १ सय ९ सांसद छन् । जसपाका पनि धेरैजसो सांसदले कांग्रेस-माओवादीलाई साथ दिने भएकाले नयाँ सरकार बन्ने सम्भावना बलियो भएको छ ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को योजनाअनुसार एमालेविरुद्ध अभियान चलाएका नेता नेपालले पछिल्लो समय राष्ट्रियसभाका एक सांसदका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत सौदावाजी गर्दै आफ्नो इगो पूरा गर्न एमाले नेतृत्वको सरकार हटाउने एग्रिमेन्ट गरेका छन् ।

सोही योजनाअनुसार नेता नेपालले प्रतिनिधिसभाबाट प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन बैशाख २७ अघि नै आफू पक्षधर सांसदको राजीनामा दिने निष्कर्ष सुनाएका हुन् । स्रोतका अनुसार नेता नेपालको सोही निश्कर्षअनुसार नेकपा एमालेको विभाजन रोक्ने प्रयास सफल नभएपछि माधव नेपाल पक्षका सांसदहरुले बैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने भन्दै धम्कीपुर्ण सूचना बालुवाटार पठाइएको छ ।

यसबीचमा अध्यक्ष ओलीलाई झुक्याउन र झुकाउन नसकिएको कारण नेपाल समुहले बार्ता भएका वार्ता सफल नभएको र कांग्रेस-माओवादी गठबन्धनसँग राष्ट्रियसभा उपनिर्वाचनदेखि केपी ओली सरकार ढाल्नेसम्मको सहकार्य अघि बढिसकेकाले तत्काल पार्टी एकताको सम्भावना टरेको बताएको छ । तर सांसदबाट राजीनामा दिने नेपालको प्रस्तावमा शनिवार रातीसम्म ११ जना सांसदले मात्रै सहमति जनाएका छन् ।

नेपाल निकट एक नेताका अनुसार राजीनामा दिने नेपालको प्रस्तावमा अधिकांश नेताले बिमति जनाएका छन् । नेता नेपालले दाहाल र देउवासँग आफूसँग ३४ सांसद रहेको बताए पनि अन्तिमसम्मत्यही ११ जनामा सिमित हुने अवस्था देखिएको हो ।

स्रोतका अनुसार माधव नेपालसहित भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु ओलीलाई सत्ताच्यूत नगरी एमाले एकता सम्भव नहुने पक्षमा उभिएका छन् भने सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डेलगायतका प्रभावशाली नेताहरु एमालेभित्रै संघर्ष गर्ने पक्षमा उभिएका छन् ।

प्रतिक्रिया