संवैधानिक परिषद् बैठकद्वारा विभिन्न आयोगमा नियुक्ति सिफारिस, किन अनुपस्थित सापकोटा र देउवा ?

admin

काठमाडौं, २६ बैशाख : आइतबार बसेको संवैधानिक परिषद् बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोग, महिला आयोगसहित केही आयोगमा रिक्त रहेका पदमा नियुक्ति सिफारिस गरेको छ । तर कुन आयोगमा कसलाई सिफारिस गरियो भन्ने अझै खुलेको छैन । रिक्त धेरै पदपूर्तिको लागि पदाधिकारीको नाम सिफारिस भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा उपस्थित भएनन् । प्रधानमन्त्री ओलीले संसद छलेर स्वेच्छाचारी रुपमा अध्यादेश ल्याएको र संवैधानिक परिषद्को बैठक बोलाएको भन्दै सापकोटा यसअघिको बैठकमा पनि सहभागी भएका थिएनन् ।

पछिल्लो पटक बैशाख २१ गते जारी भएको अध्यादेशमा अध्यक्ष र तीन सदस्य अर्थात् चार जना उपस्थित भएमा गणपूरक संख्या पुग्ने व्यवस्थालाई परिवर्तन गरी तीन जना मात्र भए निर्णय वैध हुने व्यवस्था नयाँ अध्यादेशमा छ । परिषद्मा प्रधानमन्त्री अध्यक्ष तथा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्ष दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ ।

अहिले उपसभामुखको पद रिक्त छ । प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष बैठकमा सहभागी भए नयाँ अध्यादेशअनुसार कोरम पुग्नेगरी ओली सरकारले अध्यादेश ल्याइसकेको छ । गत मंसिर ३० गते पनि प्रधानमन्त्री ओलीले दुईजना सदस्यहरुबाटै निर्णय गराएर संवैधानिक निकायका ३४ पदमा नियुक्तिको सिफारिस गराएका थिए । संसद विघटन भएकाले संसदीय सुनुवाइ बिनै ती नियुक्तिहरु सदर भएका थिए ।

सो नियुक्तिविरुद्ध सभामुख अग्नि सापकोटाले अदालतमा दायर गरेको रिट अहिलेसम्म विचाराधीन छ । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने अघिल्लो दिन बसेको परिषदको बैठकले रिक्त रहेका सबै संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गर्ने स्रोतले बताएको थियो । यसबीच, नेपाली कांग्रेस माओवादी लगायतका दलले बहुमत गुमाइसकेका प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक राख्नु बदनियतपूर्ण भएको भन्दै विरोध जनाएका छन् ।

प्रतिक्रिया