नयाँ सरकार गठन गर्न ३ दिनको समय, काम गर्ने वातावरण नै नभएपछि राजीनामा दिएँ : मुख्यमन्त्री गुरुङ

admin

काठमाडौं, २६ बैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिएका छन् । गुरुङको राजीनामा स्वीकृत भइसकेको छ ।

राजीनामा पत्रमा गुरुङले तीन वर्षको अवधिमा प्रदेश सरकारले नागरिकले अनुभूति गर्ने गरी विकास गरेको र सम्बद्ध प्रदेश निर्माणको जग बसाएको तर स्थिरता नचाहने र विकास विरोधी तत्त्वको चलखेलका कारण राजीनामा गर्न बाध्य भएको उल्लेख गरेका छन् ।

यस्तै (हिजो) शनिबारसम्म सहकार्य गरेका र एउटै घोषणापत्रबाट चुनावमा गएका दलहरूले समेत असहयोग र अस्थिरताको वातावरण सिर्जना गरेका कारण काम गर्ने वातावरण नभएका कारण राजीनामा दिएको पत्रमा उल्लेख छ ।

यस्तै प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएकी छिन् । यस्तै उनले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी छिन् ।

गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले अकस्मात राजीनामा दिएका हुन् । यसअघि अविश्वास प्रस्तावमा १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । तर संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

त्यसपछि दलहरुबीच असन्तुष्टि बढेपछि प्रदेश सभा बस्न सकेको थिएन । यही बीचमा बैशाख २३ मा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको थियो । प्रदेश सभामा २ बैशाखमा अविश्वास दर्ता भएको थियो ।

प्रतिक्रिया