केपी ओलीको धाकधम्की र प्रलोभनमा परेर जसपा फुटाउने सपना नदेख्नुस् !

admin
  • दल मर्दन कामी
    केन्द्रिय सदस्य एवं अध्यक्ष शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति

काठमाडौं, २९ बैशाख : पहिचान र सामर्थ्यका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, पुर्ण समानुपातिक समावेशीता र अल्पसंख्यक सीमान्तकृत जाति क्षेत्र, वर्ग, लिङ्गका जनताको अधिकार सहित प्रतिनिधितब पार्टीको प्रमुख एजेण्डा हो । यसकालागी पार्टी प्रतिवद्ध छ र हुनुपर्छ र यसैका लागि अन्य पार्टीका सबै नेता नश्लीय अहंकारी पहाडीया चिन्तनबाट ग्रसित भए भनेर काउन्टर दिनका लागि उत्पीडित जाती र समुदायको नेतृत्वमा बनाइएको पार्टी हो जनता समाजवादी पार्टी नेपाल ।

नश्लीय चिन्तनले ग्रसित ७० बर्षसम्म विभिन्न तिक्डम गर्दै राज्यको ढुकुटीमा ब्रम्हलुट गरेर खोक्रो राष्ट्रियता देखाउँदै, राष्ट्र र जनतालाई कंगाल बनाई, जलगैंडा झैं मोटाएका, मानवरुपी दानव ब्वासाहरु राजनीतिज्ञका रूपमा कमाउ नीति लिएका राज्यका कुख्यात अपराधीहरुको बीच पवित्र नीति लिएका जसपाका दिग्गज नेता-कार्यकर्तालाई विभिन्न प्रलोभनमा पार्नु धाकधम्की र आश्वासन दिनु साथै मतभेद सृजना गरेर पार्टी र तिनका नेता-कार्यकर्तालाई एकताबद्ध हुन नदिनु नश्लीय उच्च जातिवादीरब्राह्मणवादी चरित्रको मुल धर्म नै हो । यसलाइ जसपाका नेताकार्यकर्ताहरुले बुझ्न ढिलाइ गर्नु हुँदैन ।

मेरो आत्माले जसपाका नेतृत्वहरुलाई यसरी नै मुल्यांकन गर्दछ र यही आधारमा नै आज उहाँहरुको एउटा कार्यकर्ताको रूपमा उत्पीडितहरुको निम्ति सबै त्यागेर लागेको छु । जुन समाजले अपहेलित, तिरष्कृत र अछुत भन्दै शिल्पी समुदायलाई पशुभन्दा निच बनाएको छ, त्यही जाती समुदायले समेत मधिसे, धोती, भारतीय भनेर आफ्नै देशबासी, देशभक्त मधेसी नागरिकलाई बर्षौंसम्म भेदभाव गरेका छन्। तिनै उत्पीडित समुदाय क्षेत्रबाट खारिएर देशको नेतृत्व गरी सबैलाई समान अधिकार स्थापित गर्नुपर्छ भनेर लाग्नुभएका संघीयताका पिता, मधेसी आन्दोलनका दिग्गज, बौद्धिक, भद्र र सालिन नेताका रुपमा मैले अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवलाई मुल्यांकन गर्ने गरेको छु। पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो समेत यिनै बिचार र संघर्षबाट नै खारिएर आउनुभएका नेता हुनुहुन्छ ।

त्यस्तै नेपालको सबैभन्दा पिछडिएको राउटे, दलित बनाइएका शिल्पी समुदायको अवस्था र तिनीहरुको अधिकार कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने ज्ञानदेखि विश्वको सबैभन्दा विकसित मुलुक अमेरिका, चिन, भारत लगायतका देशका विकाश र समृद्धिलाई नियाल्दै त्यसलाई समेत चुनौती दिएर नेपाललाई विकास र समृद्धिको अग्र मोर्चामा पुर्याउनु सक्ने ज्ञान भएका बौद्धिक व्यक्ति जसपाका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई हुनुहुन्छ। साथै संघीयताका व्याख्याता, पहिचान र अधिकारका अग्रदुत भनेर समेत डाक्टर भट्टराईलाई चिनिने गरिन्छ। बरिष्ठ नेता अशोककुमार राई र राजेन्द्रप्रसाद श्रेष्ठ पनि जसपाका त्यतिकै अब्बल नेता हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते सोमबार प्रतिनिधिसभाबाट विश्‍वासको मत गुमाइससके पश्चात जसपामा मतभेदका दुई परिदृश्य अझ सशक्त बनेको अवस्था छ । केपी ओलीले प्रधानमन्त्रीमा अविश्वासको मत पाएर काम चलाउ बन्ने बित्तिकै जसपाका एक अध्यक्ष उपेन्द्र यादव सहित कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सयुक्त रूपमा हस्ताक्षर गरि नेपालको संविधान २०७२ धारा ७६को उपधारा ९२० बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रियाका लागी प्रारम्भ गर्न रास्ट्रपति विद्यादेवी भण्डारी समक्ष निवेदन गरेका थिए र सो माग बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न बैशाख ३० गते राति ९ बजेसम्मको समय दिएकी थिइन् ।

त्यस्तै जसपाकै अध्यक्ष महन्थ ठाकुरले पनि सोही रात राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रेसविज्ञप्ती जारी गरेर जसपा र ओली नेतृत्वको सरकारबीच वार्ता सकरात्मक ढंगले अघि बढेको भन्दै मुद्दा सम्बोधनलाई ध्यानमा राखेको र कुनै पनि किसिमको वैकल्पिक सरकारको गठनमा पार्टी नरहेको विज्ञप्तिमा उल्लेख गर्दै राष्ट्रपति कार्यालयलाई आफू नै प्रथम अध्यक्ष भएको र अध्यक्ष यादवको निर्णय आधिकारीक नभएको जानकारी समेत गराएकोले पार्टी दुई धारमा रहेको प्रष्ट हुन्छ ।

सत्ता र शक्तिमा रहेर जनता माथि शासन र शोषन गर्न पल्केका साशकहरुका बीच बैकल्पिक पार्टीको रूपमा आफुलाइ उभ्याउदै गरेको पार्टीका यतिधेरै दिग्गज र अग्रगामी चिन्तन भएका नेतृत्वले आफू भित्र देखिएको आन्तरिक मतभेद मिलाउन नसकेर एकअर्कालाई दोषारोपण गरेर उम्कनु कसैलाई छुट छैन र हुन्न पनि। पार्टीले उठाएको आफ्ना माग र मुद्दाका बिरोधि कमजोर भएका बेला तिनको घाँटी निमोठेर रणनीतिक रूपमा अग्रगामी शक्तिहरुलाइ समेत एक ठाउमा ल्याइ आफ्ना मुद्दालाई राज्यबाट सम्बोधन गर्ने गराउने दिशामा अगाडि बढनु नेतृत्वको बुद्धिमानी हुन्छ ।

यति बेला संघीयता, धर्मनिरपेक्षता, पहिचान र अधिकार अर्थात अग्रगमनका बिरोधि प्रधानमन्त्री केपि ओली कामचलाउ प्रधानमन्त्रीका रूपमा कमजोर भएका छन् । रात रहे अग्राख पलाउछ भने झैं यो अवसरलाई हामीले थोरै मात्र भुल गरेर मौका दियौं भने हाम्रो सानोतिनो कमिकमजोरी माथि खेलेर पुनः शक्तिशाली बन्दै उत्पीडित जनताका पक्षधरलाई उठनै नसक्ने गरि केपी ओलीले निमोठने छन् र देश झन्बिझन् बिकराल रूपमा प्रतिगमनतर्फ धकेलिने छ ।

अग्रगमनका पक्षधर जसपका नेताहरुले यदि केपी ओलीलाई साथ दिएको खण्डमा उत्पीडित जनताको शिर झुक्ने छ र उत्पीडक वर्ग समुदायको शिर ठाडो हुनेछ । उत्पीडनका विरुद्ध लडेका र आफ्नो प्राण आहुति दिएका हाम्रा हजारौं सहिदहरु बलिदानको अपमान हुनेछ । अधिकारकापक्षमा आन्दोलनरतहरु कमजोर र निराश हुनेछन् । एउटा कर्तब्यनिष्ठ कार्यकर्ताको हैसियतले जसपा जस्तो उत्पीडित जनताको पार्टीले यस्तो कमजोरी कुनै हालतमा गर्नेछैन र गर्नुहुन्न भन्ने मेरो अपेक्षा हो ।

यसबेला जसपा अब सरकारको नेतृत्व गर्न र जनताको अधिकार सुनिश्चित गर्ने कुरामा सबै नेता-कार्यकर्ता एकमत हुन जरुरी छ । एक भएर तत्काल कोसंग मिलेर अथवा कसरी सरकार बनाउने भन्ने कुरामा ध्यान दिनु जरुरी छ । हामी बैकलिपिक सरकार निर्माणको निर्णयक भुमिकामा छौ र यहि बेला नेतृत्वले ठिक भुमिका खेल्ने हो । यो परिस्थितिमा नेतृत्व तत्काल एकमतका साथ, सचेत र सजग भएर सरकारको नेतृत्व लिन जरुरी देखिन्छ । जसपा भित्रका आन्तरिक केही मतभेदहरु छन् ति त्यती ठूलो समस्या देखिन्न । बरु बुझ्न र बुझाउन पो कतै नमिलेको हो कि ? सैधान्तिक धरातलमा उभिएर हेर्ने हो भने पार्टीभित्रका सानातिना मतभेदहरुले तात्विक भिन्नता राखेको देखिन्न ।

उत्पीडित समुदायको माग र मुद्दालाई सम्बोधन गर्ने-गराउने र पार्टी भित्रका नेता-कार्यकर्तालाई लगाइएको झुट्टा मुद्दा खारेजी गर्ने-गराउने भन्ने पार्टीले उठाएको मागमा भिन्नता छ र रु पार्टीभित्र रहेका सामान्य मतभेद हटाएर पार्टीलाई द्रुतगतिमा अगाडि बढाउन एकतावद्द गराउने काम लागि ६ जना पदाधिकारी नेता र कार्यकारिणी समितिको जिम्मेवारी हो । यदि त्यो समितिबाट भएन-सकिएन भने सिङ्गो केन्द्रिय समिति समेत छ । यो बिषयमा पार्टीका उच्च तहका नेतृत्वको ध्यानाकर्षण होस भन्ने चाहान्छु ।

अर्को कुनै स्वर्थका उदेश्य राखेर देशलाई यथास्थितिमा राख्दै प्रतिगामी तत्वकै हातमा देश जाने अवस्था हुन्छ र पार्टीले उठाएका माग र मुद्धालाइ पछाडी राखिन्छ भने त्यो देश, जनता, पार्टी र आम नेता-कार्यकर्ताको निम्ति दुर्भाग्य सिद्ध हुनेछ । वर्तमान राजनीतिक परिस्थितिको सामना गर्न सकिदैन र पार्टीलाई हामीबाट तत्काल एकताबद्ध बनाउन सकिदैन भन्ने नेतृत्वलाई लाग्छ भने त्यो जिम्मेवारी र भुमिका जसपाका युवा नेतृत्वलाई हस्तान्तरण होस् । हामी जसपाका युवा नेतृत्व तयार छौं । पार्टीभित्र भएका मतभेदलाई सुल्झाएर गरेर पार्टीलाई एकताबद्ध गरि पार्टीले उठाएका माग र मुद्दालाई अगाडि बढाउन हामी सक्षम छौं । यो जसपाका दोस्रो तहका युवानेताहरु र मेरो पनि दाबी हो ।

यस अर्थमा नेतृत्व हत्याएर शिर्ष नेताहरुलाई पाखा लगाउने भन्ने कदापि होइन । हाम्रो पार्टी जसपाका अग्रज नेतृत्वको विज्ञातालाइ शिरोपण गर्दै देश र जनताको विकास र समृद्धिका लागि पार्टीलाई एकताबद्ध गरेर देशको नेतृत्व गर्ने स्थानमा पुर्याउन सक्छौं भन्ने जसपाका दोस्रो पुस्ताका नेतृत्वको आत्मविश्वासका साथ दावी हो । हैन भने अब पार्टीलाई नेतृत्व बीचको मतभेदलाई नै दुईधार बनाएर देश, जनता, पार्टी र नेता-कार्यकर्तालाई अनिर्णयको बन्धक बनाउने खेलको अन्त्य गरेर पार्टी भित्र बृहत छलफल बहस होस् । एउटै धारणा बनाएर पार्टीलाई अगाडि बढाउने र पार्टीका माग र मुद्दालाई सरकारबाट सम्बोधन गर्ने-गराउने पहल तत्काल गर्दै सके देशको नतृत्व हैन भने अन्य पार्टीसंगको सहकार्यमा सरकार निर्माणका लागि आजै-अहिले नै पहल गरोस् ।

तसर्थ पार्टीका उच्च तहका नेताहरू एक ठाउँमा बसेर बृहत् छलफल गरि तत्काल समस्या समाधानका उपाय निकाली नयाँ सरकार गठनका गर्न उचित पहल कदमी बढाउनु जरुरी छ । सबै नेता ज्युहरुको ध्यानाकर्षण होस् र ध्यानाकर्षण भएको छ भन्ने विश्वासका साथ अनुरोध गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू