काठमाडौं, २ जेठ : सरकारले निषेधाज्ञा लगाएको समयमा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ग्राहकको संख्या बढेको देखिएको छ । चालू आर्थिक वर्षको १० महीनासम्ममा ५ हजार ८५ जना पुगेको छ । वैशाखमा मात्रै ९ सय ८९ ग्राहक कालोसूचीमा परेका छन् ।
अहिले कालोसूचीमा कुल १६ हजार ५ सय ९० जना बैंक तथा वित्तीय संस्थाका ऋणी रहेका छन् । यो संख्या विसं २०४६ फागुनदेखि २०७८ वैशाख ३० गतेसम्मको हो । चालू आवको वैशाखमा अन्य महीनाको तुलनामा कालोसूचीमा पर्नेको संख्या उच्च रहेको कर्जा सूचना केन्द्रको तथ्यांकले देखाएको छ । निषेधाज्ञाका बेलामा तुलनात्मक रूपमा कालोसूचीमा पर्नेको संख्या अधिक देखिनुलाई केन्द्रले आश्चर्य मानेको छ ।
निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्थाहरूले कालोसूचीमा राख्न पठाइरहेको केन्द्रले बताएको छ । केन्द्रका प्रमुख सञ्चालक अधिकृत ओमकार श्रेष्ठ बैंक तथा वित्तीय संस्थाहरूले अत्यावश्यक सेवामात्र दिइरहेका बेलामा पनि कालोसूचीमा पर्नेको संख्या बढेको बताउँछन् । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।