काठमाडौं, २ जेठ : कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीको आइतबार सिंहदरबारमा बसेको विशेष बैठकमा स्वास्थ्य सङ्कटकालबारे छलफल भएको छ । बैठकमा कोभिड १९ संक्रमणको महामारीसँग प्रभावकारी ढङ्गले लड्नका लागि स्वास्थ्य सङ्कटकालबारे पनि छलफल भएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
स्वास्थ्य सङ्कटकाल लगाउनका लागि विद्यमान संक्रामक ऐन २०२०, स्वास्थ्य प्रणालीको संरचना तथा सार्वजनिक खरिद ऐनमा भएका प्रक्रियाले समस्या पारेकाले अनुकूल कानुन बनाउने विषयमा सरोकारवाला मन्त्रालयसँग पनि छलफल गरिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।
उनले भने, ‘स्वास्थ्य सङ्कटकालको बारेमा पनि छलफल भएको छ । नतिजा आउने भए मात्रै लगाउने, नभए किन लगाउने ? हामी तुलनात्मक अध्ययन गरिरहेका छौँ । अहिले हामीलाई तीन वटा क्षेत्रमा समस्या देखिएको छ । देशको समग्र स्वास्थ्य प्रणालीलाई एकीकृत ढङ्गले महामारीविरुद्ध लगाउनु जरुरी छ । हामीसँग स्वास्थ्य मन्त्रालय र त्यस मातहतका अस्पताल छन्, विभिन्न प्रतिष्ठान छन्, ती झन्डै-झन्डै स्वायत्तजस्ता छन् । प्रादेशिक अस्पताल छन् र पालिकाले सञ्चालन गरेको स्थानीय आधारभूत अस्पताल छन् । ती सबैलाई युनिफाइड ढङ्गले सञ्चालन गर्न हामीलाई केही कानुनी प्रबन्ध चाहिएको छ । दोस्रो हाम्रा खरिद प्रक्रियामा अहिले पनि समस्या छन् । त्यसैले केही कानुनी प्रबन्ध गर्नुपर्ने छ । अहिलेको महामारीविरुद्ध लड्न हामीलाई केही थप कानुनी संरचना आवश्यक भएको हामीले महसुस गरेका छौँ, संक्रामक रोग ऐन २०२० का प्रावधानले मात्रै नपुग्ने भएकाले त्यस विषयमा आवश्यक तयारी गर्नका लागि कानुन मन्त्रालय र सम्बद्ध निकायलाई भनिएको छ ।’
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीको आइतबार सिंहदरबारमा बसेको विशेष बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था सिर्जना हुन नदिन निर्देशन दिएका हुन् ।
सहयोग जुटाउने प्रयासमा लाग्न राजदूतहरुलाई सरकारको निर्देशन
सरकारले विभिन्न देशमा कार्यरत नेपाली राजदूतलाई कोरोना विरुद्धको खोप, औषधि र अरु स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको भर्चुअल अर्थात अप्रत्यक्ष बैठकमा खोप, अक्सिजन, औषधि र अरु स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय सहायतास्वरुप नेपालका निम्ति जुटाउन निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महामारीका कारण उत्पन्न संकट तथा देशको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी द्विपक्षीय र बहुपक्षीय तहका साथै परोपकारी संस्था, निजी क्षेत्र एवं प्रवासी नेपालीबाट सहायता जुटाउनका लागि अधिकतम प्रयत्न गर्न उनले निर्देशन दिए । सहयोग प्राप्ति र परिचालनका अन्य सम्भावनाको खोजी गर्न पनि मन्त्री ज्ञवालीले निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
उनले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राखेर काम गर्न पनि निर्देश गरेका छन् । यसैबीच सरकारले विदेशी समुदायलाई अपिल र पत्राचार गरेसँगै सहयोगको मात्रा पनि बढ्न थालेको छ । चीन, अमेरिका, युरोपेली युनियन, बेलायत, बंगलादेश, फिनल्याण्ड, थाइल्याण्डबाट सहयोगको प्रतिबद्धता आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।