शपथविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, १५ दिनभित्र लिखित जवाफ पेस गर्नुपर्ने

admin

काठमाडौं, ४ जेठ : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । फेरि शपथ ग्रहण लिनुपर्ने भन्दै परेको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो । अन्तरिम आदेश दिन अस्वीकार गरे पनि सर्वोच्चले यसबारे विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । गएको शुक्रबार शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरि प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेका थिए ।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले प्रधानमन्त्री ओलीले शपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । रिट निवेदकहरूले सङ्घीय संसद्को सदस्य नभए पनि प्रतिनिधि सभाको एउटै कार्यकालमा दोहोर्‍याएर मन्त्री बनाइएका सात जनाको नियुक्ति बदर हुनुपर्ने मागसमेत गरेका थिए ।

 

प्रतिक्रिया