चक्रवात ताउ-तेको प्रभाव : देशभर वर्षा र हिमपाताको सम्भावना

admin

काठमाडाैं, ५ जेष्ठ : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली र भारतको गुजरातको आसपासमा रहेको चक्रवात ताउ–तेको प्रभाव छ।

जसका कारण बुधबार बिहान प्रदेश १ र प्रदेश २ मा मौसम आंशिक बदली रहेको छ। बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो देशभर मौसम बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेश र बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ। यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।

महाशाखाले जनाएअनुसार राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ।सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेश र बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया