पर्यावरणविद् बहुगुणाको कोरोनाका कारण निधन

admin

एजेन्सी, ७ जेठ : रुखलाई अँगालो हालेर संरक्षणको सन्देश दिने ‘चिपको’ आन्दोलनका प्रणेता एवम् पर्यावरणविद् सुन्दरलाल बहुगुणाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । ९४ वर्षीय बहुगुणाको उपचारका क्रममा शुक्रबार निधन भएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ ।

उनी १३ दिनअघि अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचाप र मधुमेह रोगबाट पिडित थिए । बहुगुणाले सन् १९७० मा रुखलाई अँगालो हालेर संरक्षणको सन्देश ‘चिप्को’ आन्दोलन सुरु गरेका हुन् । उत्तराखण्डबाट सुरु भएको आन्दोलन भारतको सबैजसो पहाडी क्षेत्रमा फैलिएको थियो ।

जसमा महिलाहरूको सहभागिता उल्लेख्य रहेको थियो । भारतमा कोरोना महामारीका बेला अक्सिजनको चरम अभाव भइरहेका बेला उनको अभियानलाई धेरैले सम्झिएका थिए । बहुगुणालाई भारत सरकारले सन् १९८१ मा पद्मश्री र सन् २००९ मा पद्म विभूषण पुरस्कार प्रदान गरेको थियो ।

प्रतिक्रिया