अब नागरिकता लिन बाबुकाे पहिचान खुलाउन नपर्ने

admin

काठमाडौं, ७ जेठ : निवर्तमान शहरी विकास मन्त्री एवम् कम्युनिष्ट नेता प्रभु साहको लामो संघर्षपछि अब आमाको नागरिकताबाट पनि सन्तानले जन्मसिद्ध नागरिकता पाउने भएको छ ।

बिहिवार मन्त्रिपरिषद्ले ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ स्वीकृत गरेको छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्ने बितिकै लागू भई ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउनेछन् । त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ । अध्यादेशसंगै अब विदेशी बुहारीले पनि नागरिकता लिन अब ७ वर्ष कुर्नु नपर्ने भएको छ ।

लाखौं युवा युवती नागरिकता नपाउँदा राज्यविहिन महसुस गरी सेवा सुविधाबाट बन्चित भएको भन्दै निवर्तमान मन्त्री प्रभु साहले सदन देखि सार्वजनिक कार्यक्रममार्फत आवाज उठाउदै आएका थिए । गत असार ७ गते नागरिकता विधेयकबारे तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयको ठाडो विरोधमा नेकपाकै नेता प्रभु साह उभिएका थिए ।

उक्त निर्णय मधेशी जनताको भावना विपरीत रहेको भन्दै नेता साहले पुनर्विचार गर्न आग्रह गरेका थिए । उक्त निर्णयले नेपाल भारतबीच परापूर्वकालदेखि चल्दै आएको रोटीबेटीको सम्बन्ध बिथोल्ने र मधेशमा अविश्वासको वातावरण सृजना हुने भन्दै नेता साह निरन्तर नेतृत्वलाई दबाब दिदै आएका हुन् ।

नेता साहकै सल्लाहमा प्रधानमन्त्री ओलीले नागरिकता सम्बन्धी समस्या समाधान गर्न खोजेपनि विगतमा पार्टी भित्रकै नेताहरुले अवरोध पुर्याउदै आएका थिए । तर उनको लामो संघर्ष अहिले आएर सफल भएको छ ।

प्रतिक्रिया