समर्थन फिर्ता लिए पनि माधव नेपाल समूहका मन्त्री फिर्ता नहुने

admin

काठमाडौं, ११ जेठ : सुदूरपश्चिम सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिए पनि मन्त्रीहरुले फिर्ता नहुने सङ्केत गरेका छन् । माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टले आफूहरु फिर्ता नहुने सङ्केत गरेका हुन् ।

उनीहरु तीनैजना एमालेको माधव नेपाल समूहका हुन् । एमालेको प्रदेश कमिटीले गएको चैत १५ गते नै सरकारबाट बाहिरिने निर्णय गरेको भए पनि मन्त्रीहरु फिर्ता भएका थिएनन् । अहिले केन्द्रमा पार्टी नै विभाजनको सङ्घारमा रहेकोले केन्द्रको निर्णय मान्नैपर्छ भन्ने नरहेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताएका छन् । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा एमालेका मात्रै २५ सांसद छन् ।

माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का दुई जना सांसद छन् । एमालेको माधव पक्षले प्रदेश सरकारलाई समर्थन यथावत राखे मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगिने देखिएको छ । अहिलेसम्म एमालेका २५ जना प्रदेशसभा सदस्यमध्ये ६ जना मात्रै ओली पक्षमा खुलेका छन् । माओवादीलाई आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन वा अहिलेकै सरकार टिकाउन अरु दलका १४ जना सांसदको समर्थन आवश्यक छ ।

प्रतिक्रिया