काठमाडौं, १३ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक सङ्कट निम्त्याएको बताएका छन् ।
नेपाल प्रेस युनियनको ३१औँ स्थापना दिवसको अवसरमा ‘जुम’मार्फत् आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक सङ्कट निम्त्याएको बताएका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको कदमले प्रजातन्त्रमा पनि खतरा आइपुगेको उनले बताए । आफूले प्रधानमन्त्रीका लागि बहुमतभन्दा बढी सदस्यको हस्ताक्षर गरेर बुझाएको भए पनि राष्ट्रपतिले प्रमाणित गर्ने प्रयाससमेत नगरिकन प्रतिनिधि सभा विघटन गरेको उनले उल्लेख गरे ।
राष्ट्रपतिले प्रधानमन्त्रीले भन्नेबित्तिकै मान्न नहुने भन्दै सभापति देउवाले राष्ट्रपतिले पनि संविधानको ठाडो उल्लङ्घन गरेको बताए । प्रधानमन्त्री र राष्ट्रपतिका कदमविरुद्ध सर्वोच्च अदालत गएकाले अदालतले न्याय गर्नेमा उनले विश्वास व्यक्त गरे ।
देउवाले भने, ‘बहुमतभन्दा बढी सदस्यको सही छापसहित हामीले बुझाएका थियौँ । अरू देशमा मान्छे बोलाएर यो हो कि होइन भनेर सोध्छन्, त्यो नगरिकन उहाँले मध्यरातमा विघटन गर्नुभयो । गर्न नहुने कुरा गर्नुभयो । राष्ट्रपति जस्तो व्यक्तिले सम्मानजनक पद धारण गरेको व्यक्तिले प्रधानमन्त्रीले भन्दैमा मान्नुपर्ने थिएन यो । किनभने यो संविधानको ठाडो उल्लङ्घन त प्रधानमन्त्रीले गर्नुभयो । राष्ट्रपतिले पनि गरेको देखिन्छ यहाँ । त्यसैले सर्वोच्च अदालत गएका छौँ । मलाई विश्वास छ अदालतले न्याय गर्नेछ । प्रजातन्त्रमा पनि खतरा आइपुगेको छ । अप्रजातान्त्रिक, असंवैधानिक हस्तक्षेप गरेर प्रधानमन्त्री र राष्ट्रपतिले नेपालमा राजनीतिक सङ्कट पैदा गरेका छन् ।’
कोरोनाको संक्रमणले भयानक अवस्था सिर्जना गरेको भन्दै देउवाले सडक आन्दोलनमा जान नहुने बताए । नागरिकमा गएर झन् कोभिड फैलाउने अपराध गर्न नहुने उनले स्पष्ट पारे । मिडियालाई आवाज उठाउन र प्रतिनिधि सभा विघटनको विरुद्धमा जनमत सिर्जना गर्न पनि उनले आग्रह गरे ।
संविधानलाई खतम पार्ने षड्यन्त्र भइरहेको भन्दै उनले त्यस्तो षड्यन्त्रलाई अदालतले परास्त गर्नेमा विश्वास व्यक्त गरे । सभापति देउवाले आफूले पार्टीको अधिवेशन गराएन भन्ने कलङ्क आफ्नो टाउकोमा राख्न नचाहने पनि बताए । पार्टीको आउँदो अधिवेशन सम्पन्न गर्नका लागि आफू तयार रहेको उनले स्पष्ट पारे ।