काठमाडौं, १४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र सेवक कर्मचारी र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणलाई सामान्य रुपमा लिन नसकिने बताएका छन् । स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्ने समाचार आइरहेको भन्दै उनले डिउटीमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण भएको सरह नै स्वास्थ्यकर्मीमाथिको आक्रमण गर्नेलाई कारबाही गरिने बताए ।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसेवक कर्मचारीमाथि भएको आक्रमण क्षम्य नहुने बताए । यस्तै प्रधानमन्त्री ओलीले पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजिएको आरोप समेत लगाएका छन् ।
प्रधानमन्त्री ओलीले पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउने काम भएपछि आफ्नो सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको बताए । सरकार गठनका सबै विकल्प पूरा भएपछि राष्ट्रपतिले संवैधानिक रूपमै मध्यावधि चुनावको घोषणासहित प्रतिनिधि सभा विघटन गरिएको प्रधानमन्त्री ओलीको दाबी छ ।
बजेट सार्वजनिक गर्नुपर्ने समय नजिकिएको र राजनीतिक अन्योल कायम राख्नु उचित नहुने भएकाले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउन आफूले सिफारिस गरिएको उनको भनाइ छ । आफ्नो कदम राजनीतिक अन्योलबाट मुक्त गर्ने उद्देश्यले भएको र प्रधानमन्त्रीमा दाबी गर्दा आफूलाई एमालेका एक सय २१ र जसपाका ३२ सांसदको समर्थन रहेको समेत ओलीले दाबी गरे ।
यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा चुनावी सरकार बनाउन प्रस्ताव पनि गरेका छन् । सम्बोधनका क्रममा उनले आफू नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउने र यही सरकारमा सबै राजनीतिक दल सहभागी हुन प्रस्ताव गरेका हुन् । ताजा जनादेशमा जाने कुरा प्रतिगमन नभएको भन्दै उनले एक पटक फेरि ताजा जनादेश लिएर सरकार सञ्चालन गर्नुपर्ने बताए ।
त्यस्तै प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको पहिलो डोज लगाएकाहरूलाई जसरी पनि दोस्रो डोज खोप उपलब्ध गराउने बताए । ओलीले पहिलो मात्रा खोप लगाएकाहरूले दोस्रो डोज खोप लगाउन पाइँदैन कि भनेर चिन्ता लिन नपर्ने बताए ।
अहिलेसम्म नेपालमा ३२ लाख २८ हजार डोज कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको र त्यसमध्ये १० लाख डोज खरिद गरिएको भन्दै उनले अबको केही समयमै खोप सहज हुने बताए । उनले अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न पर्याप्त बजेट पठाइएको समेत बताए ।
प्रधानमन्त्री ओलीले कोभिड-१९ विरुद्धको लडाइँमा महत्त्वपूर्ण सहयोग गर्ने भारत, चीन, अमेरिका, स्पेन, जर्मनी, थाइल्यान्ड लगायत मित्र राष्ट्रलाई धन्यवाद दिएका छन् । यस्तै उनले आफ्नो गाँस कटाएर स्वास्थ्यमा सहयोग गर्ने खाडी देशमा रहेका नेपालीलाई धन्यवाद दिएका छन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि कोभिड सङ्कट व्यवस्थापन अध्यादेश जारी गरिएको भन्दै उनले अध्यादेशले स्वास्थ्य सङ्कटकाल लगाउन बाटो खोलेको बताए । यस्तै ओलीले कोरोनाको विश्वव्यापी महामारीविरुद्ध लड्न जी-७ र टी-२० लगायत विकसित देशले अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गर्नुपर्ने बताए ।
सोही क्रममा प्रधानमन्त्री ओलीले आफ्नो गाँस कटाएर स्वास्थ्यमा सहयोग गर्ने खाडी देशमा रहेका नेपालीलाई धन्यवाद दिएका छन् । ओलीले आफ्नो गाँस कटाएर अक्सिजन सिलिन्डर पठाउने खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकप्रति सम्मान व्यक्त गरेका हुन् । यस्तै उनले गैरआवासीय नेपाली सङ्घ (एनआरएन) र देशका उद्यमी, व्यवसायी र समाजसेवीलगायत सबै सहयोगीहरू धन्यवादको पात्र भएको बताएका छन् ।