काठमाडौं, १५ जेठ : नेकपा एमालेका उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेको केन्द्रीय कमिटीमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको बताएका छन् । १४औं गणतन्त्र दिवसका अवसरमा शनिबार नेता गौतमले एमालेभित्रका गणतन्त्र विरोधी नेताहरुको स्मरण गरेका हुन् ।
पार्टीमा गणतन्त्रको प्रस्ताव राख्दा तीनजना नेताहरु विपक्षमा उभिएको समेत नेता गौतमले बताएका छन् । तथापि उनले ती नेताहरुको नाम भने लिएका छैनन् । ‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो’ एमाले नेता गौतम भन्छन्, ‘त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’
गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र प्रचण्डले भूमिका खेलेको भन्दै नेता गौतमले तीनै नेतालाई महानायकका रुपमा सम्झेका छन् । ‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाल ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो,’ गौतम भन्छन्, ‘उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न । अरु, दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ ।’
एमाले नेता गौतमले (आज) शनिबार १४औं गणतन्त्र दिवसको अवसरमा सबै शहीदहरुलाई श्रद्धाञ्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका छन् । यस्तै गौतमले नाम नलिई एमालेका तीनजना नेता गणतन्त्रको विपक्षमा रहेको बताएपछि यसबारे धेरले चासो राखेका छन् । वामदेव निकट एक नेताका अनुसार गौतमले ‘चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता’ भनेर केपी शर्मा ओली, सीपी मैनाली र राधाकृष्ण मैनालीलाई भन्न खोजेका हुन् ।
नेकपा एमालेले २०६२ साल साउनमा आयोजित बैठकबाट गणतन्त्रमा जाने औपचारिक निर्णय गरेको थियो । त्यतिबेला एमालेका राधाकृष्ण मैनाली एमाले छाडेर ज्ञानेन्द्रको मन्त्रिमण्डलमै सहभागी भइसकेका थिए । झापा आन्दोलनका अर्का अगुवा सीपी मैनालीले भने ०५६ सालअघि नै एमाले छाडेर माले पुनर्गठन गरिसकेका थिए । चर्चित झापा संघर्षका मुख्य नेता केपी ओली एकजना मात्रै एमालेमा बचेका थिए ।
एमालेको केन्द्रीय कमिटीमा तत्काल गणतन्त्रमा जाने संघर्षको नारा तय गर्नुपर्छ भन्ने प्रस्ताव राख्दाखेरि केपी ओलीले त्यसमा असहमति जनाएको तर नोट अफ डिसेन्टचाहिँ नलेखेको नेताहरु बताउँछन् । तर, त्यसबेला ओलीको निकट मानिने विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र मुकुन्द न्यौपानेले गणतन्त्रमा जाने प्रस्तावको विपक्षमा नोट अफ डिसेन्ट लेखेको एमालेका एक नेताले जानकारी दिए । सो बैठकमा अर्का नेता झलनाथ खनालले ‘पूर्ण लोकतन्त्र’ को प्रस्ताव गरेका थिए ।
तर, बैठकले त्यसलाई अस्वीकार गर्दै गणतन्त्रमा जाने निर्णय गरेको थियो । त्यसबेला महासचिव माधवकुमार नेपाललाई साहना प्रधान र वामदेव गौतम लगायतका नेताहरुले साथ दिएपछि गणतन्त्रको प्रस्ताव बहुमतबाट पारित भएको थियो । वामदेव गौतमले तयार पारेको प्रस्तावलाई अन्तिम रुप दिने जिम्मा माधव नेपालले ईश्वर पोखरेललाई दिएका थिए ।