काठमाडौं, १५ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेर नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्न अनुरोध गरेकी छिन् । राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाएको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमा पुगेर वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई हस्तान्तरण गरिएको अमेरिकामा रहेको नेपाली दूतावासले जनाएको छ ।
भेटमा राजदूत खतिवडाले अमेरिकी सहयोगमा विश्वका विभिन्न देशले सुविधाका रूपमा पाउने एस्ट्राजेनेकाको खोपमा पनि सहजीकरण गरिदिन अनुरोध गरिएको दूतावासले जनाएको छ । जवाफमा मसिन्गाले अमेरिकी सरकारको नेपालको वर्तमान महामारीलाई लिएर गहिरो सहानुभूति रहेको बताएको दूतावासले जनाएको छ ।
यसअघि परराष्ट्र मन्त्रालयले पनि अमेरिकाको जोन्सन एन्ड जोन्सनको खोप ५० लाख डोज खरिद गर्न पनि पत्राचार गरिसकेको छ । राष्ट्रपति भण्डारीले यस अघि भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेर तथा चिनियाँ राष्ट्रपति सी जिनफिङसँग टेलिफोन संवादमा खोपका लागि सहयोग गर्न अनुरोध गरिसकेकी छिन् ।