काठमाडौं, १९ जेठ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरलाई एक-अर्कालाई कारबाही गरिएकोबारे प्रक्रिया पुर्याउन आग्रह गरेको छ । दुवै अध्यक्षले (हिजो) मंगलबार एक-अर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए ।
तर निर्वाचन आयोगले भने कारबाही गर्नुपर्ने आधार र कारबाही गर्नका लागि चाहिने पदाधिकारी तथा केन्द्रीय सदस्यको हस्ताक्षर तथा ढाँचा नमिलेको भन्दै पुष्टि हुने कागजात पठाउन पत्र पठाएको हो । दुवै अध्यक्षले एक-अर्कालाई कारबाही गरिएको उल्लेख गरे पनि कारबाही पुष्टि हुने आधिकारिक कागजात र निर्णयको प्रतिनिधि नपठाएको आयोगले जनाएको छ ।
सरकारले गरेको प्रतिनिधि सभा विघटनको विषयलाई लिएर जसपा फुट नजिक पुगेको छ । अध्यक्ष महन्थ ठाकुर पक्षले प्रतिनिधि सभा विघटन ठिक हो भन्दै सरकारमा समेत सहभागी हुने तयारी गरेको छ । तर अर्का अध्यक्ष उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई पक्षले भने सरकारको कदमलाई प्रतिगामी भन्दै विपक्षी दलको गठबन्धनमा आबद्ध भएको छ । दुवै पक्षले एक-अर्कालाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरिसकेका छन् ।