काठमाडौं, १९ जेठ : नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको निजी गाडी स्वास्थ्य सामग्री लिएर बुधबार बाह्रबिसे पुगेको छ । नेता बस्नेतद्वारा कोरोना संक्रमितलाई बोक्न दिइएको निजी गाडी एम्बुलेन्समा परिणत भएको हो ।
कांग्रेस खेलकुद विभागका प्रमुखसमेत रहेका बस्नेतले आफ्नो निजी सवारीसाधनलाई सिन्धुपाल्चोकभरिका कोरोना संक्रमितलाई बोक्न एम्बुलेन्स बनाएका हुन् । उनले उक्त गाडी फिर्ता नलिने भएका छन् ।
कोरोना कहरसम्म सो एम्बुलेन्सको सञ्चालन खर्च बस्नेतले नै बेहोर्ने भएका छन् । नेता बस्नेतले सिन्धुपाल्चोकमा अक्सिजनसहित सय बेडको कोभिड अस्पताल बनाइसकेका छन् । बुधबार बाह्रबिसेमा लगिएको स्वास्थ्य सामग्री (भोलि) बिहीबार लिसंखुपाखरमा वितरण गरिने भएको छ ।