काठमाडौं, २१ जेठ : नागरिकता अध्यादेशको विरुद्ध परेका मुद्दाको सुनुवाइ शुक्रबार हेर्दाहेर्दैमा सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासमा शुक्रबार केही बेर सुनुवाइ भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । अर्को सुनुवाइ २७ गते हुने सर्वोच्च अदालतले जनाएको छ ।
नागरिकता अध्यादेशको विरुद्धमा परेका मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रिटको सुनुवाइका लागि वरिष्ठताका आधारमा आफूसहित दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको इजलास गठन गरेका हुन् ।
प्रतिनिधि सभा विघटनको विषयमा गठन गरिएको संवैधानिक इजलासमा विवाद भएपछि अध्यादेशविरुद्धको मुद्दामा भने प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा न्यायाधीश छानेर इजलास गठन गरेका हुन् ।
सरकारको सिफारिसमा यहीँ जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि त्यसको विरोधमा वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, बालकृष्ण बस्नेत लगायतले रिट दायर गरेका थिए ।