पोखरा, २१ जेठ : गण्डकी प्रदेशको सांसदबाट राष्ट्रिय जनमोर्चा पार्टीले हटाएपछि कृष्ण थापा सर्वोच्च अदालतमा पुगेका छन् । आफूलाई सांसदबाट हटाइएको भन्दै सांसद थापाले पार्टी कारबाही फिर्ताका लागि सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
पार्टी निर्देशन विरुद्ध लागेको भन्दै जनमोर्चाले उनलाई बिहीबार गण्डकी प्रदेशसभा सदस्यबाट हटाएको थियो । जनमोर्चाले बिहीबार उनलाई सांसदबाट हटाउन प्रदेशसभा सचिवालय र सभामुख नेत्रनाथ अधिकारीलाई पत्र पठाएपछि उनलाई सांसदबाट हटाइएको पार्टीको पत्र सभामुखले पढेर सुनाएका थिए ।
शुक्रबार सांसद थापाको तर्फबाट सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, लगायतका कानुन व्यवसायीले रिट दर्ता गराएका हुन् । रिटमा सांसद पद खारेजी गैरकानुनी तवरबाट भएको भन्दै खारेजीको माग गरिएको छ ।
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव विरुद्ध मतदान गर्न दिएको निर्देशनलाई अस्वीकार गरेका थिए । उनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन दाबी पत्रमा हस्ताक्षर गर्न नमानेपछि जनमोर्चाको बिहीबारको केन्द्रीय कमिटी बैठकले सांसद पदबाट निलम्बन गरेको थियो ।
पार्टीले कारबाही गरेको पत्र जनमोर्चा महासचिव मनोज भट्ट र सांसद पियारी थापाले प्रदेशसभा सचिवालयमा दर्ता गरेका थिए । गण्डकी प्रदेशमा जनमोर्चाका तीन सांसद छन् । यहाँ सरकार बनाउने र गिराउनमा जनमोर्चा नै निर्णायक रहेको छ । उसको समर्थन विना एमाले वा कांग्रेस कसैको नेतृत्वमा पनि सरकार बन्न सक्ने अवस्था छैन ।