काठमाडौं, २३ जेठ : भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बालुवाटारको ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध २१ दिने सूचना जारी गरेको छ । भूमिसुधार कार्यालयको गएको चैत २० को आदेशअनुसार ४९ जनाको घरमा सूचना बुझाउन जाँदा घर-ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै गोरखापत्रमा सार्वजनिक सूचना निकालेर २१ दिनको समय दिइएको हो ।
उनीहरुलाई सो जग्गा नेपाल सरकारको नाममा कायम गर्नुनपर्ने कारण भए २१ दिनभित्र कारण सहित उपस्थित हुन् र यदि कोरोनाको कारण उपस्थित हुन नसके इमेलमार्फत् कारण तथा प्रमाण पेश गर्न भुमि सुधार तथा मालपोत कार्यालयले भनेको छ । जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए वा प्रतिक्रिया पेस नभए कानुनअनुसार हुने सूचनामा उल्लेख छ । सूचनामा उल्लेखित विवरणअनुसार बालुवाटारको ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा छ ।