आजका लागि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

admin

काठमाडौं, २४ जेठ : प्रतिनिधि सभा विघटनसम्बन्धी परेका रिट निवेदनहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास सोमबारका लागि स्थगित भएको छ । इजलासमा रहेका व्यक्ति नै अस्वस्थ रहेको सूचना प्राप्त भएकाले सोमबार बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका छन् ।

संसद विघटनसम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराई रहेका छन् । सोमबारका लागि हेर्दाहेर्दैमा राखिएका निवेदन स्थगित पेसी सूचीमा चढाइएको छ ।

(हिजो) आइतबारको बहसपछि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । संवैधानिक इजलासको आइतबारको सुनुवाइमा इजलासमा रहेका न्यायाधीश रहन हुने कि नहुने भन्ने विषयमा बहस केन्द्रीत थियो । महान्यायाधीवक्ता रमेश बडालसहित सरकारी पक्षका वकिलहरुले इजलासबाट कार्की र भट्टराईलाई हटाउन माग गरेका थिए ।

कार्की र भट्टराई रहेको इजलासबाट निष्पक्ष फैसला नआउने सरकारी पक्षको भनाइ छ । इजलासमा रहेका व्यक्तिबारे विवाद उत्पन्न भएसँगै यस विषयमा टुङ्गो नलागी विषय केन्द्रीत बहस अघि नबढ्ने भन्दै प्रधानन्यायाधीश जबराले सोमबारका लागि इजलास नै गठन नगरेका हुन् ।

प्रतिक्रिया