पाइला-पाइलामा षड्यन्त्र भइरहेको छ, उचित समयमा सबै खुल्छ : डा. भट्टराई

admin

गोरखा, २४ जेठ : जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देशमा पाइल-पाइलामा षड्यन्त्र भइरहेको बताएका छन् । गृह जिल्ला गोरखामा पत्रकारहरूसँग कुरा गर्दै नेता भट्टराईले यस विषयमा प्रमुख दलका सबैजसो प्रमुख नेताहरू जानकार रहेको बताएका हुन् ।

आफूले अहिले षड्यन्त्रभित्रको नीतिगत कुरा मात्रै बाहिर ल्याएको भन्दै भट्टराईले त्यसभित्रको प्राविधिक कुरा भने हार-जित नभएसम्म बाहिर भन्न नमिल्ने बताए । आफूले प्राप्त गरेको सूचनाअनुसार देशभित्र र बाहिरका प्रतिगमनकारी शक्तिहरु मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने र देशलाई अनिश्चयको अँध्यारो सुरुङतिर धकेल्ने षड्यन्त्र भइरहेको उनको दाबी छ ।

जनता समाजवादी पार्टीको एक समूहको सरकारमा सहभागितालाई पनि नेता भट्टराईले प्रतिगमनकारीहरूको षड्यन्त्रका रुपमा अथ्र्याए । ‘पहाडका नक्कली राष्ट्रवादी शक्ति र मधेशको क्षेत्रीय नारा लिएर मधेशीलाई ठग्नेहरू एक ठाउँमा आएका छन्, विपरीत ध्रुवमा उभिएकाहरू एक ठाउँमा आएका छन्, त्यसले पनि व्यवस्थालाई खतरा पार्ने षड्यन्त्रको सङ्केत गर्दछ’, भट्टराईले भने, ‘ती त प्यादाका रूपमा सरकारमा पठाइएका हुन् ।’

उनले प्रतिगमनलाई परास्त गर्न आवश्यक पर्दा चौथो जनआन्दोलन गर्नुपर्ने पनि बताए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको नेपाल-खनाल समूह, जसपा र जनमोर्चाबीच कार्यगत एकता भइ सङ्घ, प्रदेश र पालिकासम्म आन्दोलन गर्नेबारे प्रारम्भिक छलफल भएको पनि नेता भट्टराईले जानकारी दिए । आवश्यक परे पूर्व माओवादीहरू एकीकृत हुन सक्ने पनि उनको भनाइ छ ।

प्रतिक्रिया