justnep home

आजदेखि दश जिल्लामा निषेधाज्ञा थपियो

admin

काठमाडौं, २४ जेठ : कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञाको अवधि सोमबारदेखि थप गरिएको छ । यसअघि लगाइएको निषेधाज्ञाको अवधि सकिएका १० जिल्लामा सम्बन्धित जिल्ला प्रशासनले सोमबारदेखि निषेधाज्ञा थप गरेको गृह मन्त्रालयले जनाएको छ ।

बाँके, मोरङ, गुल्मी, बझाङ, कपिलवस्तु, ताप्लेजुङ, धनुषा, डोल्पा, म्याग्दी, सर्लाही जिल्लामा सोमबारदेखि निषेधाज्ञाको अवधि सकिएको थियो । यी जिल्लामा आउँदो जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ । अहिलेसम्म मनाङ र खोटाङबाहेक अरू ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

सप्तरी र ताप्लेजुङमा भने निश्चित क्षेत्र तोकेर आंशिक निषेधाज्ञा छ । (भोलि) मंगलबारदेखि अरू १० जिल्लामा पनि विभिन्न मितिमा लगाइएको निषेधाज्ञा सकिँदैछ । यी जिल्लाले पनि कोरोना संक्रमणको जोखिम नघटेकाले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् ।

हिमाली र पहाडी जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय र उपत्यका तथा तराई-मधेशमा पाँच सय पुगेमा अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा लगाउने सरकारको नीतिअनुसार विभिन्न जिल्लाले निषेधाज्ञा थप्दै गएका छन् ।

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कोभिड सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश नै जारी गरेर सरकारले कैद र जरिबाना हुनेसम्मका व्यवस्था गरेको छ । संक्रमणबाट जोगिन अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निषेधाज्ञाको पूर्ण रूपमा पालना गर्न सरकारले आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया