कोरोना संक्रमणबाट प्याब्सनका सल्लाहकार महर्जनको निधन

राष्ट्रिय समाचार समिति

काठमाडौं, २५ जेठ : कोरोनाको छालमा डुबेर मर्ने कि पौडिने हिम्मत गर्ने ?’ कोरोना महामारी शुरू भएपछि गत वर्ष जारी बन्दाबन्दीका समयमा यस शीर्षकमा लेख लेखेर भाइरसलाई परास्त गर्न आह्वान गरेका शिक्षाकर्मी राजकुमार महर्जनको भौतिक चोला मंगलवार कोरानाबाट पराजित भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का केन्द्रीय प्राज्ञिक सल्लाहकार, क्वेस्ट नेपालका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउन्ट भ्यु इङ्गलिस बोडिङ स्कूलका संस्थापक प्रिन्सिपल ५२ वर्षीय महर्जनको मंगलवार निधन भएको हो ।

प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष, भक्तपुरका पूर्व अध्यक्ष उनलाई कोभिड–१९ दोस्रो भेरियन्टको संक्रमणका कारण गत वैशाख १२ गते उपचारका लागि बीएण्डबी अस्पताल ग्वार्कोमा भर्ना गरिएको थियो ।

उनका दाइ श्याम महर्जनले कोरोना पछिल्लो रिपोर्ट नेगेटिभ आए पनि फोक्सोमा पुर्‍याएको क्षति र मधुमेहका कारण भाइलाई बचाउने प्रयास असफल भएको जानकारी दिए ।

विक्रम संवत् २०२६ कात्तिक २ गते ललितपुरको चाँगाथलीमा जन्मेका महर्जनले शिक्षाको विकासका लागि २ दशकदेखि योगदान दिँदै आएका थिए । पत्रकारितामा समेत चासो राख्ने उनले शिक्षासँग सम्बन्धित विषयमा लेख्नाका साथै सामाजिक सञ्जालमा प्रेरणामूलक सन्देश प्रवाह गर्दै थियो । महर्जनका पत्नी र १ छोरा छन् ।

प्रतिक्रिया