अमेरिकाद्वारा हानिकारक गतिविधि नगर्न रुसलाई चेतावनी

admin

एजेन्सी, २७ जेठ : अमेरिकी राष्ट्रपति जो बाइडेनले हानिकारक गतिविधिमा संलग्न नहुन रुसलाई चेतावनी दिएका छन् । बेलायत भ्रमणमा रहेका राष्ट्रपति बाइडेनले आफूले रुससँग सामान्य सम्बन्ध चाहेको तर रुसी सरकार कुनै पनि हानिकारक गतिविधिमा संलग्न भएमा अमेरिकाले ठोस र अर्थपूर्ण जवाफ दिने बताएको बीबीसीले जनाएको छ ।

सफोल्कमा रहेको आरएएफ मिल्डेनहल एअरबेसमा अमेरिकी सैनिक तथा उनीहरुका परिवारलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले रुसका गतिविधिलाई अमेरिकाले गम्भीरताका साथ हेरिरहेको बताए । राष्ट्रपतिको जिम्मेवारीमा आएपछि बाइडेन पहिलो विदेश भ्रमणका क्रममा बेलायत गएका हुन् ।

उनले (आज) बिहीबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गर्नेछन् । आठ दिन युरोपमा रहँदा बाइडेनले बेलायती महारानीसँग भेटवार्ता गर्नेछन् भने विकसित देशहरुको समूह ‘जी’ सेभेनको बैठकमा भाग लिनेछन् ।

भ्रमणको अन्त्यमा बाइडेनले जेनेभामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको बीबीसीले जनाएको छ । पुटिनसँगको भेटमा हतियार नियन्त्रण, जलवायु परिवर्तन, रुसबाट हुने साइबर आक्रमण तथा रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी लगायतका विषयमा कुरा गर्ने ह्वाइट हाउसले जनाएको छ ।

प्रतिक्रिया