केही दिनमा पूर्वबाट मनसुन भित्रिने, वर्षा बढ्नेहुँदा सचेत रहन आग्रह

admin

काठमाडौं, २७ जेठ : नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनले वर्षा केही बढ्न थालेको र आउँदो हप्तादेखि भने ठाउँ-ठाउँमा ठूलो वर्षासमेत हुने जानकारी दिए । ‘हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एक/दुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ’, पौडेलले भने, ‘वर्षा बिस्तारै बढ्न थालेको छ, आउँदो हप्ता ठाउँ-ठाउँँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउन सक्छ, सचेत हुन अनुरोध गर्दछु ।’

उनका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन । मौसमविद् गङ्गा नगरकोटी अहिले देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको बताइन् । त्यसैले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पनि वर्षा भएको छ ।

बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै ठाउँमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । (भोलि) शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै ठाउँमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ । सामान्यरूपमा गएको १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो ।

यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आउँदो आइतबार हो । अक्टोबर २ मा बाहिरिने छ । सरदर वर्षाको आँकडा विश्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकाहीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुन सक्छ ।

प्राप्त विवरणअनुसार बिहीबार दुई सय १४ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ८५ र स्वचालित एक सय २९) मा मापन गरिएको बितेको २४ घण्टाको वर्षाको विवरणअनुसार एक सय आठ केन्द्रमा वर्षा भएको छ । ती केन्द्रमध्ये सबैभन्दा बढी वर्षा डडेलधुरा केन्द्रमा एक सय १२ मिलीमिटर भएको छ ।

प्रतिक्रिया