नर्भिक अस्पतालले जिम्मा लियो अभिनेत्री निशा घिमिरेको उपचार खर्च

admin

काठमाडौं, २८ जेठ : नर्भिक अस्पतालले अभिनेत्री निशा घिमिरेको उपचार निःशुल्क गर्ने भएको छ । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेको अस्पतालले बिहीबार उपचार समेत थालेको छ । समाचार माध्यमबाट निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन् ।

ललितपुरमा जन्मिएकी निशा घिमिरे २०७६ सालमा अभिनयको कोर्स पढ्न भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटना लगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँ उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखी ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा लगातार थेरापी गरियो थियो । नियमित थेरापी गर्नसमेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी अर्धचेत अवस्थामा घरमै थिइन् । उनको शरीर सुकेर जिर्ण बन्दै गएको छ ।

प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन । नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । हाल निशा बोल्न सक्दिनन् । खाना पनि अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्‍यो भने सुन्छिन् र आँसु बगाउने गर्छिन् । जवाफ दिन वा अरुलाई रेस्पोन्स गर्नसक्ने अवस्थामा छैनन् । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्षपछि नर्भिकले उद्दार गरेकोमा छिमेकी र उनका अभिभावकसमेत खुशी छन् ।

नर्भिककी प्रबन्ध निर्देशक चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन् । अब आफ्नै समन्वयमा उनको सम्भव हुनेजति उपचार गरिने उनले जानकारी दिइन् । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको नर्भिक अस्पतालले जनाएको छ । चिकित्सकले उनको अवस्था सुधार हुने अपेक्षा गरेका छन् ।

नेपाली कलाकारितामा सफलता प्राप्त भइरहेको बेला अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि साढे दुई वर्षअघि भारतको देहरादुन पुगेकी निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि नै कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनापछि बोल्न र हिँड्न छाडेकी उनको उपचारको अभावका कारण दिन प्रति दिन बिग्रँदै गएको थियो । अहिले उनी शारीरिक अशक्तताका कारण उनको शरीरमा हाड र छालाबाहेक केही देखिँदैन । मध्यमवर्गीय परिवारकी निशाको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण उनको उपचारमा ढिलाइ हुन पुगेको हो ।

निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । उनले नेपाल टेलिभिजनबाट प्रशारणमा आएको टेलि सिरियल ‘डियर जिन्दगी’, दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन्, भने केही टेलिसिरियलमा समेत अभिनय गरेकी निशाले लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । 

प्रतिक्रिया