सरकारले एक खर्ब ८० अर्ब रुपैयाँ ऋण लियो

admin

काठमाडौं, ६ असार : सरकारले चालु आर्थिक वर्षको पहिलो दश महिनामा झण्डै एक खर्ब ८० अर्ब रुपैयाँ ऋण लिएको छ । आन्तरिक र वैदेशिक गरेर साउनदेखि बैशाख महिनासम्म एक खर्ब ७९ अर्ब ६२ करोड रुपैयाँ ऋण लिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

यसमध्ये ६७ अर्ब १० करोड रुपैयाँ वैदेशिक ऋण र एक खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ । यस्तै दश महिनामा सरकारले १४ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ । अनुदान र ऋण गरेर १० महिनामा ८१ अर्ब ४३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै साउनदेखि वैशाखसम्म दुई खर्ब दुई अर्ब २८ करोड रुपैयाँ वैदेशिक अनुदानको प्रतिबद्धता आएको छ । जसमध्ये १० दशमलव नौ प्रतिशत अर्थात् २२ अर्ब रुपैयाँ अनुदान सहायता रहेको छ भने बाँकी ऋण सहायता रहेको छ । वैदेशिक सहायताको प्रतिबद्धता अघिल्लो वर्षको पहिलो १० महिनाको तुलनामा ३५ दशमलव ३ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया