आज परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा संक्रमण पुष्टि, थप ४६ जनाको ज्यान गयो

admin

काठमाडौं, ७ असार : सोमबार दुई हजार दुई सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार पाँच सय ८३ जनाको आरटी र पीसीआर विधिबाट परीक्षण गर्दा एक हजार पाँच सय ८४ जनामा र चार हजार तीन सय २१ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सात सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ । नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत परीक्षण गर्दा ६ लाख २२ हजार ६ सय ४० जनामा र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा २७ हजार तीन सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बितेको २४ घण्टामा तीन हजार एक सय ३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या पाँच लाख ५९ हजार नौ सय २८ पुगेको छ । अहिले नेपालमा कोरोना निको हुने दर ८९ दशमलव ९ पुगेको मन्त्रालयले जनाएको छ ।

बितेको२४ घण्टामा र यसअघिको विवरणसहित ४६ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ हजार सात सय ७२ पुगेको छ ।

प्रतिक्रिया