उपप्रधानमन्त्री महतोलाई सिंहदरबार प्रवेशमा निषेध, नागरिकता छानविन गर्न अख्तियारमा उजूरी

admin

काठमाडौं, ८ असार : उपप्रधानमन्त्री राजेन्द्र महतोको नागरिकताको छानविनको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ । मंगलबार अधिवक्ता वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले उजुरी दिएकोमा दर्ता भएको हो । तीनैजना अधिवक्ताहरुले महतोको नागरिकता छानविन गर्न भनेका छन् ।

उनीहरुले महतोको नागरिकतामाथि प्रश्न उठाएका छन् । अख्तियारमा महतोको नागरिकता छानविनको उजुरी सी ०३५५९६ नम्बर दिई दर्ता भएको छ । पछिल्लो समय महतोको नागरिकतबाारे प्रश्न उठाउन थालिएको छ । (हिजो) सोमबार महतोलाई सिंहदरबार प्रवेश निषेध भन्दै नयाँ पार्टीले सुचना सिंहदरबारको मूलढोकामा टाँसेको थियो ।

नयाँ पार्टी, नेपालको नामबाट उपप्रधानमन्त्री महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै सिंहदरबार दक्षिणगेटमा पर्चा टाँसिएको हो । पर्चामा लेखिएको छ, ‘नयाँ पार्टी, नेपालले दिएको समय सीमाभित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमशः देशभरी नै प्रवेश निषेध गरिनेछ । नयाँ पार्टी, नेपाल ।’

यस्तै भारत स्थायी ठेगाना भएका राजेन्द्र सुडी महतोलाई नयाँ पार्टी नेपालले तोकिएको सात दिने अवधिभित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण सार्वजनिक नगरेको भन्दै सिंहदरबारभित्र प्रवेश निषेध गर्न सूचना टाँसेको थियो । पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता युवराज सफलले भने, ‘अब देशैभरि प्रवेश निषेध गर्ने र उप प्रधान एवं सहरी विकास मन्त्रीको हैसियतमा हुने जुनसुकै कार्यक्रम पनि बहिष्कार गर्दै महतोलाई जहाँ भेट्यो त्यहीँ भौतिक कारबाही गर्न आम नेपाली नागरिकहरुलाई अपिल गर्न चाहन्छौँ ।’

प्रतिक्रिया