आन्तरिक उडान सञ्चालन गर्ने सरकारको निर्णय

admin

काठमाडौं, ८ असार : कोभिड-१९ का कारण बन्द गरिएको आन्तरिक हवाइ उडान सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ।  मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान खोल्ने निर्णय गरेको हो। यसका सम्बन्धी व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई परिपत्र गरेको छ। 

पहिलो चरणमा ५० प्रतिशत आन्तरिक उडान सञ्चालन गरिने भएको छ। मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, “जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि कूल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने।”

मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक उडान सञ्चालन गर्ने तयारी थालिएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। उडान तालिका बुधबार तय गरिने मन्त्रालयले जनाएको छ। यस्तै, सरकारले अन्तर्राष्ट्रिय उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ।

पहिलो चरणमा काठमाडौंबाट दोहा, इस्तानबुल, दुबई, दमाम, कवेत सिटी, मस्कट, क्वालालम्पुर, सियोल, टोकिया र छेन्दुमा उडान सञ्चालन गर्ने निर्णय गरेको हो। यी रुटमा नेपाल वायुसेवा निगम र सम्बन्धित देशका वायुसेवा प्रदायकले नियमित दुईतर्फ उडान गर्ने व्यवस्था मिलाउन पनि सरकारले नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ। 

प्रतिक्रिया