अन्ततः झुटो एकैपटक १० बच्चा जन्मिए भनेर विश्वभर चर्चा पाएको खबर !

admin

एजेन्सी, १० असार : एकैपटक १० वटा बच्चा जन्मिएका भनेर विश्वभर चर्चा पाएको खबर झुटो रहेको पाइएको छ । जुन आठ तारिखमा दक्षिण अफ्रिकाकी ३७ वर्षकी गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिएको खबर बीबीसीले प्रकाशन गरेपछि एकै पटक १० बच्चा जन्मिएको चर्चा विश्वभर भएको थियो । तर थप अनुसन्धानमा ती महिला यस पटक गर्भवती समेत नभएको पाइएको बीबीसीले जनाएको छ ।

एकैपटक १० बच्चा जन्माएको भनिएकी महिलाका केटा साथी अर्थात् जन्मिएका भनिएका बच्चाका बुवा तेबोगो सोतेत्सीले बच्चा जन्मिएको बारेमा जानकारी दिएका थिए । त्यही जानकारीको आधारमा अफ्रिकाको प्रान्तीय सरकारले बधाई दिएको थियो भने बीबीसी लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले खबर लेखेका थिए ।

तर, बच्चा जन्माएको भनिएकी महिलाका केटासाथीले सुत्केरी भनिएका महिलासँग भेट गर्न नसकेपछि बच्चा जन्मिएको भनिएको लुइ पास्चर प्राइभेट हस्पिटलमा सम्पर्क गरेका थिए । तर त्यो अस्पतालले गोसियामे थमारा सिथो नामका कोही गर्भवती भर्ना नभएको र अस्पतालमा १० वटा बच्चा नजन्मिएको बताएपछि खबर झुटो रहेको थाहा भएको हो ।

तेबोगो सोतेत्सीले महिलासँग सामाजिक सञ्जालमार्फत कुराकानी हुँदा बच्चा जन्मिएको जानकारी पाएको भन्दै अहिले खबर झुटो भएकोले १० बच्चाका लागि सहयोग नगर्न समेत अपिल गरेको बीबीसीले जनाएको छ । स्वास्थ्य परीक्षणको क्रममा ती महिला यस पटक गर्भवती समेत नभएको पाइएकोले उनको मानसिक स्वास्थ्य जाँच भइरहेको अफ्रिकाको गौतेङ प्रान्तको सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया