प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आजको बहस सकियो

admin

काठमाडौं, ११ असार : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा शुक्रबारका लागि बहस सकिएको छ । शुक्रबार रिट निवेदकतर्फका कानुन व्यवसायीले बहस गरेका थिए । रिट निवेदकतर्फका कानुन व्यवसायीका लागि तय गरिएको समय अझै दुई घण्टा ३५ मिनेट बाँकी रहेको छ ।

इजलासमा रिट निवेदकका कानुन व्यवसायीलाई दुई घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबारका लागि इजलास स्थगित गरेका हुन् । शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनील पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।

बाँकी रिट निवेदकतर्फका कानुन व्यवसायीको बहसका लागि तय गरिएको समय अझै बाँकी रहेकाले आइतबार फेरि बहस हुनेछ । शुक्रबारको बहसमा प्रधानन्यायाधीश जबराले रिट निवेदकतर्फका न्यायाधीश अधिवक्ता दिनमणि पोखरेललाई ‘प्रधानमन्त्रीले म विश्वास लिदिनँ भन्ने ठाउँ संसद् कि राष्ट्रपति कार्यालय ?’ भनेर प्रश्न गरेका थिए ।

जवाफमा अधिवक्ता पोखरेलले संविधानको धारा ७६ को उपधारा ५ मा प्रधानमन्त्री ओलीको दाबी नपुग्ने बताएका थिए । अल्पमतको सरकारपछि ३० दिनभित्र विश्वासको मत लिन्छु भनेको प्रधानमन्त्रीले आफूसँग बहुमत नपुग्ने भन्दै विश्वासको मत नलिएपछि फेरि त्यही व्यक्तिले उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न नपाउने अधिवक्ता पोखरेलले बताए ।

प्रतिक्रिया