माओवादी केन्द्र ऐनअनुसार नचली भूमिगत र छापामार किसिमले चलिरहेको छ : नेता रायमाझी

admin

काठमाडौं, २५ असार : नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन् । शुक्रबार माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि अन्य नेतासहित पुगेका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका हुन् ।

उनले विगत २९ वर्षदेखि त्यस पार्टीमा महाधिवेशन नभएको भए पनि २०६९ सालमा एउटा नाममात्रैको महाधिवेशन भएको र त्यसपछि पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको पनि बताए । उनले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरको पनि उल्लेख गरे । उनले राजनीतिक पार्टीहरू संस्थागत, वैधानिक र कानुनसम्मत हुनुपर्ने बताए ।

देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै उनले पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने बताए । राजनीतिक पार्टीहरू बीचमा सुमधुर सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै उनले अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरी स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पनि बताए ।

राजनीतिक पार्टीहरूलाई सिस्टममा ल्याउनका निम्ति आफूहरूले माओवादी केन्द्र खारेजीको मागसहित निर्वाचन आयोगमा निवेदन दिएको नेता रायमाझीले बताए । नेता रायमाझीसँगै निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्वनेताहरू मणि थापा, प्रभु शाह लगायत पुगेका थिए । आफूहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्न पनि आयोग समक्ष आग्रह गरेको नेता रायमाझीले बताए ।

प्रतिक्रिया