असार अन्तिमसम्म नै झरी पर्ने, सतर्कता अपनाउन विभागको अनुरोध

admin

काठमाडौं, २५ असार : जल तथा मौसम विज्ञान विभागले देशका धेरै ठाउँमा असार अन्तिमसम्म नै झरी पर्ने जनाएको छ । आउँदो हप्तासम्म नै मनसुन सक्रिय भइ देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा सबै प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले विशेष बुलेटिन निकालेर जानकारी दिएको हो ।

तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको र आउँदो हप्तासम्म नै झरी पर्ने मौसमविद् शान्ति कँडेलले बताइन् । यही बुधवारदेखि मौसम थप सक्रिय भएको हो । (आज) शुक्रबार मकवानपुर, दोलखा, इलाम, सिन्धुली, दाङ, बाँकेलगायतका जिल्लामा पानी परिरहेको छ । त्यस्तै चितवनमा पनि चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार राति प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने अनुमान मौसम विज्ञान विभागको छ । देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । यसैबीच वर्षाका कारण सडक पनि प्रभावित हुने हुँदा अति आवश्यक नपरि नहिँड्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया