अंशुवर्माकालीन ‘पार्वती’ को मूर्ति अमेरिकामा फेला

admin

काठमाडौं, २६ असार : भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्रको कलात्मक पार्वती मूर्ति हराएको वर्षौंपछि अमेरिकाको येल विश्वविद्यालयमा भेटिएको छ । लिच्छवी राजा अंशुवर्माको कृति उजिल्याउने उक्त मूर्ति अमेरिकामा भेटिएकामा गोलमढीका श्रद्धालुजनले समेत आश्चर्य मानेका छन् ।

नेपालबाट चोरिएका/हराएका सम्पदाको खोजीनितीसम्बन्धी अन्तर्राष्ट्रिय अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले गत साता सार्वजनिक गरेको सूचनाबाट गोलमढीको उक्त मूर्तिबारे थाहा भएको हो । लस्ट आर्ट्स अफ नेपालले सन् ८० को दशकमा वीरभद्रेश्वर मन्दिरबाट हराएको ताराको मूर्ति अमेरिकाको कनेटिकटस्थित येल युनिभर्सिटीको संग्रहालयमा रहेको उल्लेख गरेको छ ।

श्रद्धालुले भने उक्त मूर्ति ताराको नभई पार्वतीको रहेको बताएका छन् । गोलमढीका ८३ वर्षीय चन्द्रमान राजभण्डारीले आफ्नो खलकले वर्षौंदेखि पाठपूजा गर्दै आएको पार्वतीको मूर्ति २०३५ सालतिर हराएको सुनाए ।

येल विश्वविद्यालयको वेबसाइटमा उक्त मूर्तिलाई ‘बुद्धिस्ट गडेस तारा’ भनेर चर्चा गरिएको छ । वेबसाइटका अनुसार सन् १९७६ मा भक्तपुर, गोलमढीबाट प्राप्त उक्त मूर्ति सुरुमा स्पिन्क एन्ड सन लिमिटेड (लन्डन) ले देवीको मूर्ति भनेर कलासम्पदाका संग्रहकर्ता जेम्स एन्ड मार्लिन एल्सडर्फलाई बेचेको थियो । सन् १९८४ मा जेम्स दम्पतीले यो सम्पदा किनेका हुन् ।

मूर्ति सन् २००२ मा माइकल एन्ड जर्जियाले न्युयोर्कमा पुर्‍याएको देखिन्छ । येल विश्वविद्यालयमा भने सन् २०१५ मा यो सम्पदा पुगेको देखिन्छ । कसले उक्त विद्यालयमा बुझाएको हो भन्ने स्पष्ट खुलेको छैन । गोलमढीबाट हराएको कलात्मक मूर्ति अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयको आर्ट ग्यालरीमा फेला परेको सूचना आएपछि विश्वविद्यालयकी आर्ट–क्युरेटर एन्टोनिया बर्तोलसँग जिज्ञासा राखिए पनि जवाफ आएको छैन ।

वीरभद्रेश्वर महादेव मन्दिरका पुजारी कीर्तिनाथ मिश्रका अनुसार पार्वतीको मूर्ति एकाएक हराएपछि प्रतिलिपि मूर्ति बनाएर नित्यपूजा हुँदै आएको छ । इतिहासको अभिलेखमा स्वीस अध्येता उसर्लच भोन स्क्रोडरले समेत भक्तपुर भ्रमणका क्रममा गोलमढीस्थित पार्वतीको तस्बिर २०३३ सालमा खिचेका थिए । उनले उक्त मूर्तिसम्बन्धी विवरण ‘नेप्लिज स्टोन स्कल्प्चर्स’ शीर्षक पुस्तकमा समेटेका छन् ।

सम्पदाविद् रवीन्द्र पुरीका अनुसार गोलमढीस्थित वीरभद्रेश्वर महादेव परिसरकै शिलालेखमा उल्लेख भएअनुसार त्यहाँको शिव–पार्वती मूर्ति अंशुवर्माकालीन रहेको प्रमाणित भएको छ । इतिहासविद् धनवज्र वज्राचार्यको ‘लिच्छविकालका अभिलेख’ (२०३०) पुस्तकमा गोलमढी शिवदेव संवत् ५१६ मा अंशुवर्मा ‘महासामन्त’ उपाधिबाट विभूषित भएपछि स्थापना गरिएको उल्लेख छ ।

‘अमेरिकी विश्वविद्यालय र अरू अध्येताले ताराको मूर्ति भनेर प्रचार गरे पनि यो पार्वतीकै मूर्ति रहेको स्पष्ट देखिन्छ,’ पुरीले भने । कला–सम्पदा र सभ्यताको कुरा पढाउने अमेरिकी विश्वविद्यालयले नेपालबाट चोरिएको सम्पदा आफ्नो संग्रहालयमा राखेको भन्ने सूचना आफैंमा लाजमर्दो रहेको उनले बताए । युनेस्को अभिसन्धि र ‘सम्पदा उत्पत्ति मुलुक’ को आधारलाई हेरेर पनि यो प्राचीन अंशुवर्माकालीन नेपालको सम्पदा तत्काल घर फर्काइनुपर्नेमा उनले जोड दिए ।

सम्पदासम्बन्धी विज्ञ पुरुषोत्तमलोचन श्रेष्ठले भने ‘धार्मिक र सांस्कृतिक सद्भाव रहेको समाजमा शिव मन्दिरभित्र तारा (बौद्धमार्गी) मूर्ति रहन सम्भव रहेको’ धारणा राख्दै यो सम्पदामा देवीको ‘बसुधरा रूप’ देख्न सकिने बताए । ‘यो एउटै मूर्तिलाई हिन्दुहरूले पार्वतीका रूपमा र बौद्धहरूले ताराका रूपमा मान्दै आएका हुन सक्छन्,’ उनले भने, ‘हाम्रो समाजमा सम्प्रदाय गौण रहिआएको छ ।

यो मूर्तिमा देखिएको प्रतिमा लक्षणकै आधारमा पनि यो ताराकै मूर्ति हो कि भन्ने देखिएको छ ।’ अमेरिकाको कनेटिकट राज्यको नेपाली मामलासमेत हेर्ने न्युयोर्कस्थित कार्यवाहक नेपाली महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येल विश्वविद्यालयमा रहेको नेपाली सम्पदाबारे जानकारी पाएको उल्लेख गर्दै यसबारे छिट्टै पत्राचार प्रक्रिया अघि बढाउने बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया