प्रधानमन्त्री ओली बाढी-पहिरोले क्षति गरेको क्षेत्र अवलोकन गर्न सिन्धुपाल्चोकमा

admin

काठमाडौं, २६ असार : प्रधानमन्त्री केपी शर्मा ओली बाढी-पहिरोले क्षति गरेको क्षेत्र अवलोकनका लागि सिन्धुपाल्चोक पुगेका छन् । बाढी-पहिरोले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न उनी नेपाली सेनाको हेलिकप्टरबाट सिन्धुपाल्चोक पुगेका हुन् । यस वर्ष सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपाल लगायत अरु ७ जिल्लामा घर क्षति भएका परिवारलाई राहत स्वरुप पहिलो किस्तामा प्रतिपरिवार ५० हजार रुपैयाँ अस्थायी घर बनाउन रकम निकासा भएको छ ।

मनसुन सुरु भएलगत्तै गएको असार पहिलो हप्ता आएको बाढीरपहिरोले सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनासहित विभिन्न ठाउँमा ठूलो क्षति पुर्‍याएको थियो । सिन्धुपाल्चोकसहित यस वर्ष दाङ, प्युठान, दैलेख, बाजुरा, लमजुङ, अर्घाखाँची र हुम्लामा गरी ५ सय ७३ परिवारको घर क्षति भएको छ । पीडितलाई अस्थायी आवास बनाउन २ करोड, ८६ लाख रुपैयाँ पठाएको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढी-पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । त्यस्तै अघिल्लो वर्षको बाढी-पहिरोबाट घरबारविहीन २२ जिल्लाका चार हजार ९ सय ३७ लाभग्राहीको घर बनाउन झण्डै ३० करोड रुपैयाँ पठाएको पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया