उपत्यकामा एक घण्टामै ५० मिलिमिटर पानी परेसँगै धोवी खोला कोरिडोर आसपासका क्षेत्र डुवान

admin

काठमाडौं, २६ असार : काठमाडौं उपत्यकामा (आज) शनिबार दिउँसो ठूलो पानी परेको छ । बर्षाका कारण काठमाडौंको धोवी खोला कोरिडोर आसपासका क्षेत्रमा डुवान भएको छ । बर्षापछि पानी जाने निकास नभएपछि सो क्षेत्रमा डुवान भएको हो । कोरिडोर आसपासका क्षेत्रका केहि घरहरूमा बाढी पसेको छ । निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न थियो । सडकमा राखिएका गाडी समेत डुवानमा परेका थिए भने सर्वसाधारणको आवतजावतमा समस्या भएको थियो ।

धोवी खोला कोरिडोरलाई व्यवस्थीत बनाइपनि पानी निकास हुने ठाँउको अभाव भएपछि सो क्षेत्र डुवानमा पर्दै आएको छ । यस्तै काठमाडौंमा गएको एक घण्टामै ५० मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् । ठूलो पानीसँगै काठमाडौंका विभिन्न खोलामा बाढी आएको छ । रुद्रमतीमा बाढी आउँदा अनामनगर क्षेत्रको सडक तथा छेउछाउका घरमा समेत पानी पसेको छ । यस्तै काठमाडौंको घट्टेकुलो क्षेत्र पनि डुबानमा परेको छ ।

वाग्मती, मनोहरा, हनुमन्ते, गोदावरी लगायतका नदीमा पनि पानीको बहाव बढेको छ । कतिपय ठाउँको सडकमा पनि पानी जमेर आवतजावतमा समस्या भएको छ । काठमाडौंमा शनिबार राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए । अहिले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्ययम र केही ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेकाले धेरै ठाउँमा पानी परिरहेको हो । सोमबारसम्म नै मनसुन सक्रिय भइरहने भएकाले देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया