अमेरिकाबाट छुटेको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने

admin

काठमाडौं, २६ असार : अमेरिकाले नेपाललाई अनुदानमा दिने १५ लाख डोज खोप अमेरिकाबाट छुटेको छ । अमेरिकाले मोर्डनाको ३० लाख डोज खोप इन्डोनेसियालाई, पाँच लाख डोज भुटानलाई तथा जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप नेपालका लागि पठाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

सोमबार बिहान खोप काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् । जोनसन एन्ड जोनसनको खोपलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको छ भने नेपालको औषधि व्यवस्था विभागले पनि अनुमति दिने अन्तिम तयारी गरेको छ । यो खोप एक डोज लगाए पुग्छ ।

अमेरिकाले कम विकसित र विकासशील देशलाई दिने प्रतिबद्धता जनाएको आठ करोड डोज खोप अन्तर्गत ५० लाख डोज खोप तीन वटा देशका लागि पठाएको राष्ट्रपति जो बाइडेनको प्रशासनलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ । अमेरिकाका वैज्ञानिक कानुनी र नियामक निकायका प्राविधिकले नेपाल र भुटानमा खोपको प्रभावकारी वितरणका लागि मिलेर काम गरेको पनि खबरमा उल्लेख छ ।

यस्तै अमेरिकाले चीनको प्रभावमा रहेका देशमा खोप कुटनीति गरिरहेको आरोप लाग्ने गरेको छ । तर ह्वाइट हाउस प्रशासनले भने महामारीको अन्त्य र मानवीय सहयोगका लागि खोप वितरण गरिरहेको जनाएको छ ।

प्रतिक्रिया