नयाँ खिलराज रेग्मी जन्माउने डिजाइनका साथ यो फैसला आएको छ : नेता बस्नेत

admin

काठमाडौं, २८ असार : एमाले ओली पक्षका नेता महेश बस्नेतले अदालतकै फैसलाका कारण देश राजनैतिक द्वन्द्वमा प्रवेश गरेको दाबी गरेका छन् । सोमबार सर्वोच्च अदालतको फैसलाको विरुद्धमा नेकपा एमालेको ओली पक्षले प्रदर्शन समेत गरेको छ । सर्वोच्च अदालतले क्षेत्राधिकार बाहिर गएर प्रधानमन्त्री हटाउने र नियुक्त गर्ने आदेश दिएको भन्दै युवा सङ्घ नेपालले प्रदर्शन गरेको हो ।

उनीहरूले सर्वोच्चले एकपक्षीय फैसला गरेको बताएका छन् । नेता बस्नेतले सामाजिक सञ्जालमार्फत माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको असंवैधानिक फैसलाप्रति विरोध जनाउन आह्वान गरेका थिए । युवा संघका कार्यकर्ताले ‘सबै फैसला मानिँदैन, खबरदार’ लेखिएको ब्यानरका साथ माइतीघरमा प्रर्दशन गरिरहेका छन् ।

उक्त विरोध प्रदर्शनमा बोल्दै नेता बस्नेतले देश अब निर्दलीयतातर्फ गएको बताएका छन् । बस्नेतले सर्वोच्च अदालतको आजको फैसलाले मुलुकमा नयाँ खिलराज रेग्मी जन्माउने डिजाइन भएको बताए । ‘सर्वोच्चको फैसलाले पार्टीको ह्विप उल्लंघन गर्न खोजेको छ । मुलुक निर्दलीयतिर जान खोज्दै छ । उनले भने, ‘नयाँ खिलराज रेग्मी जन्माउने डिजाइनका साथ यो फैसला आएको छ ।’

उनले कुनैपनि दलहरुसँग एकल चुनाव लड्ने हैसियत नभएको बताए । जनताबाट तिरस्कृत राजनीतिकर्मीहरु चुनावदेखि डराएको उनको भनाइ थियो । यसै क्रममा उनले भने, ‘अदालतलाई घाँस खुवाएर फैसला आयो, देउवालाई प्रधानमन्त्री बनाएपछि सदनमा परीक्षण गर्नुपर्छ । माओवादीलाई चुनावपछि कहाँ खोज्ने हो ? अदालतले राजनीति गर्न खोजेको हो ? तपाईं प्रधानमन्त्री बन्ने डिजाइनका साथ फैसला आएको हो ? कुनै मानेमा स्वीकार गर्दैनौँ । अब मुलुक द्वन्द्वमा प्रवेश गरेको छ ।’

सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुनर्स्थापना गर्न पनि आदेश दिएको हो ।

प्रतिक्रिया