सर्वोच्चको फैसलाले महत्वपूर्ण योगदान पुर्‍यायो : माओवादी केन्द्र

admin

काठमाडौं, २९ असार : नेकपा (माओवादी केन्द्र)ले सर्वोच्चअदालतको फैसलालाई ऐतिहासिक र महत्वपूर्ण भनी स्वागत गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी समिति बैठकले अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा, स्वेच्छाचारिता र निरंकुशतन्त्रको अन्त्य गर्न महत्वपूर्ण योगदान पुर्‍याएको निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले संविधान र लोकतन्त्रको रक्षानिम्ति सङ्घर्ष गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै बैठकले कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ । बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवासँग सरकार सञ्चालनका निम्ति आवश्यक विविध विषयमा प्रारम्भिक छलफल गर्ने र सरकारको स्वरुपका बारेमा ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठनको पहल गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

एक सय ४६ सांसदले दायर गरेको मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र नेपालको संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सोमबार परमादेश दिएको थियो । यसैगरी बैठकले पार्टी केन्द्रीय सदस्य महादेव यादवको निधनप्रति शोक व्यक्त गरेको छ । त्यस्तै पार्टी स्थायी समिति सदस्य पम्फा भुसालकी स्व. माताप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

प्रतिक्रिया