प्रधानमन्त्रीमा रहँदा राम्रा काम मात्रै गरेँ, बादल हटेर सूर्य उदाउनेछ : केपी ओली

admin

काठमाडौं, २९ असार : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदमा रहँदा राम्रो काम मात्रै गरेको दाबी गरेका छन् । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले तीन वर्ष पदमा बस्दा नागरिकको हितमा काम गरेको र देशमा राजनीति मात्रै होइन विकास पनि हुन्छ भन्ने सन्देश दिन सफल भएको बताए ।

माथिल्लो तामाकोशी र मेलम्ची आयोजना पूरा गरेको, देशलाई सुरुङ युगमा प्रवेश गराएको, लोडसेडिङको अन्त्य गरेको, कर्णालीमा बिजुली पुर्‍याएको, तुइन विस्थापित गरेको लगायतका उदाहरण दिँदै ओलीले देश समृद्धि बाटोमा हिँडिरहेको बेलामा अलोकतान्त्रिक कामहरुमार्फत अवरोध गर्ने काम भइरहेको बताए ।

‘सरकारबाट बाहिरिनु परेकामा चिन्ता छैन । इमान्दारिताका साथ देशको समृद्धि, सुशासन, विकास यी कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्‍याउनुपर्ने कुरालाई ध्यानमा राखेर काम गरेको छु । विकासका निम्ति नयाँ भिजन दिएर अगाडि बढाएको छु’ ओलीले भने ।

सोही क्रममा ओलीले अहिलेको राजनीतिक परिस्थितिलाई ‘एकैछिन लागेको बादल’ को संज्ञा दिँदै फेरि सूर्य उदाउने बताएका छन् । अब आफू र आफ्नो पार्टी नेकपा एमाले लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि चौबीसै घण्टा खडा भएर खबरदारी गरिरहने ओलीले घोषणा गरेका छन् ।

ओलीले भने, ‘एकछिन बादल लागेको छ, फेरि सूर्य बादल हटाएर उदाउने छ ।’ नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले आफ्नो सम्वोधनको बिट मार्दै भने, ‘बादलले एकछिन अँध्यारो पार्न सक्ला । घामलाई छेक्न सक्ला । तर, सूर्यको प्रकाशलाई कसैले पनि निस्तेज पार्न सक्दैन ।’

पार्टी अहिले सरकारबाट बाहिरिनु परेपनि छिट्टै नेतृत्वमा पुग्ने उनको आशय थियो । आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको ओलीले दाबी गरे । साथै अबको डेढ वर्षमा चुनाव हुने भन्दै उनले पार्टीका कार्यकर्ताहरूलाई निराश नभई अघि बढ्न आग्रहसमेत गरे ।

ओलीले भने, ‘नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने महान अभियानमा म र मेरो पार्टी सधैंभरि अग्र मोर्चामा डटिरहने छ । लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि हामी चौबीसै घण्टा खडा भएर अब पनि खडा हुनेछौं । थालिएका अग्रगामी कदमहरूको निरन्तरताका लागि खबरदारी गरिरहने छौं ।’

तीन वर्ष पाँच महिना लामो आफ्नो सरकारले महत्वपूर्ण कामहरु गरेको फेहरिस्त प्रस्तुत गर्दै ओलीले अब प्रतिपक्षी भूमिकामा दह्रोसँग उभिने संकेत गरे । उनले भने, ‘मुलुकलाई अस्थिरतातिर, अर्थतन्त्रलाई ओरालो दिशातिर, जनतालाई अन्धकारतिर र संविधानलाई संकटतिर धकेल्ने प्रयासका विरुद्ध हामी चट्टान बनेर उभिने छौं । मेरो पूर्ण विश्वास छ, मुलुकले शुरु गरेको अग्रगतितिरको यात्रा कसैले पनि बिथोल्न सक्ने छैन र हामी त्यो बिथोल्न दिने पनि छैनौं ।’

आफ्नो सम्बोधनमा ओली पार्टीभित्रको माधव नेपाल पक्षप्रति निकै आक्रामक रुपमा प्रस्तुत भए । एमालेको कार्यदलले तयार पारेको १० बुँदे समझदारीपत्र अनुमोदन हुन बाँकी रहेको अवस्थामा ओलीको यो प्रस्तुतिले एमालेको एकता अब कसरी अगाडि बढ्ला भन्ने प्रश्नसमेत जन्माएको छ । उनले आफू नेतृत्वको सरकारलाई साथ सहयोग गर्ने सबैमा धन्यवाद पनि आभार प्रकट गरे ।

‘मेरो नेतृत्वमा सञ्चालित सरकार ऐतिहासिक रुपमा सफल सरकार हो । त्यसको सफलतामा धेरैको योगदान छ’,उनले भने, ‘सबैको सद्भावले यो सफलता प्राप्त भएको हो । यसले हामीलाई ऊर्जा प्राप्त दिएको छ ।’ ओलीले आफूलाई सरकारबाट बाहिरिँदा रत्तिभर चिन्ता पनि नभएको दाबी गरेका छन् । उनले आफ्नो नेतृत्वमा चौतर्फी विकास भएको दाबी समेत गरे ।

कुनै व्यक्तिको इच्छा पूरा गर्न नेपालको संविधान र लोकतान्त्रिक प्रणालीमा खेलाँची भएकोमा चिन्ता रहेको उल्लेख गरे । उनले अदालतको फैसला अनुचित आए पनि त्यसलाई पालना गरेर अघि बढ्ने उल्लेख गरे । सर्वोच्चको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकाले उनी स्वतः पदमुक्त भएर सिंहदरबारबाट घर फर्किएका छन् ।

प्रतिक्रिया