लाजसरम हराएका माधव नेपाल जस्ता नेतालाई एमालेमा ठाउँ छैन : केपी ओली

admin

काठमाडौं, ३० असार : निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिक्रियावादीको हितका लागि आफ्नै पार्टीको सरकार ढालेको आरोप लगाएका छन् । सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेपछि ओलीले पार्टीका नेता नेपालतर्फ लक्षित गर्दै बिकाउ तत्त्वहरूले प्रतिक्रियावादीको पछि लागेर पार्टी र जनताको शक्तिका विरुद्ध काम गरेको बताए ।

उनले माधवकुमार नेपाललाई लाजसरम हराएका नेता भएको भन्दै उनलाई अब एमालेमा कुनै ठाउँ नभएको बताए । ‘माधव नेपाल जस्ता लाजसरम हराएका मान्छेहरूलाई एमालेमा ठाउँ छैन, अरूले आत्मालोचना गरे भने पार्टीमा भित्र्याउन सकिन्छ तर माधव नेपाललाई पार्टीको कुनै जिम्मेवारी दिन सकिन्न’, ओलीले भने ।

अहिलेको यो परिस्थिति निर्माण गर्ने माधव नेपाल भएको भन्दै उनले शीतल निवासमा देउवाको शपथमा सहभागी भएर खुसीयाली मनाएको भन्दै कटाक्ष पनि गरे । बुधबार बालुवाटार छाड्दै गर्दा ओलीको समर्थकहरूको भीड लागेको थियो । मंगलबार नै एमाले नेताहरुले हजारौँ मोटर साइकल र गाडीका साथमा ओलीलाई स्कर्टिङ गरी बालकोट पुर्‍याउने उद्घोष गरेका थिए, भने नेताहरुको निर्देशन अनुसार सयौँको संख्यामा एमालेका नेता, कार्यकर्ता ओलीलाई स्वागत गर्नका लागि सरकारी निवास बालुवाटारदेखि नीजि निवास बालकोटसम्मै लामबद्ध भएका थिए ।

ओलीलाई युथ फोर्सका कार्यकर्ताले स्कर्टिङ गरेर बालुवाटारबाट निजी निवास बालकोट पुर्‍याएका थिए । कौशलटारदेखि बालकोटसम्म कार्यकर्ताले ओलीको पक्षमा र माधवकुमार नेपाल तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरुद्धमा नाराबाजी गरेका थिए । युवा तथा विद्यार्थीहरु र पार्टी कार्यकर्ताहरु केपी शर्मा ओलीको नाम अंकित पोष्टर, पार्टीको झण्डा र बाजागाजासहित उपस्थित भएका थिए भने बालुवाटारदेखि बालकोटसम्मै ओलीको अघि र पछि लामबद्ध भएका थिए ।

बालकोटमा ओलीलाई स्वागत गर्न समर्थक तथा शुभेच्छुक र स्थानीयहरुको घुइँचो लागेको थियो । स्थानीयले उनलाई पुष्प गुच्छा प्रदान गरेका थिए । पत्नी राधिका शाक्यसहित नीजि निवास पुगेका उनको पक्षमा निवासमा पनि चर्को नाराबाजी भएको थियो । ओलीले समर्थक तथा शुभेच्छुकहरुलाई बाल्कोनीबाट अभिवादन गरेका थिए । सरकारको ४३औँ प्रधानमन्त्रीको रुपमा कुशलतापूर्वक कार्यकाल सफल पारेको भन्दै युवाहरुको तर्फबाट युवा संघका अध्यक्ष किरण पौडेलले अभिनन्दन पनि गरेका थिए ।

प्रतिक्रिया