विदेश यात्रा गर्ने व्यक्तिले कोरोना खोप पाउने व्यवस्था के छ ?

admin

काठमाडौं, १ साउन : सरकारले कोभिडविरुद्धको खोपको उपलब्धताका आधारमा विभिन्न उमेर समूह तथा लक्षित वर्ग छुट्याएर खोप लगाउने काम अगाडि बढाइरहेको छ। उमेर समूह र लक्षित वर्गले खोप लगाइरहेको समयमा विभिन्न प्रयोजनले विदेश जानु पर्ने व्यक्तिहरुले पनि खोप कसरी पाउन सकिन्छ भन्दै जिज्ञासा राख्न थालेका छन्।

विदेश जाने नागरिकलाई कोरोना विरुद्धको खोप लगाउनका लागि सरकारले कसरी व्यवस्था गरेको छ, कहाँ गएर खोप लगाउने? परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले खोप अनिवार्य गरेका मुलुकहरुमा जाने नागरिकको लागि कोभिड खोप उपलब्ध गराउने मन्त्रिस्तरीय निणर्य भएको बताए।

उनले भने,‘उहाँहरुको लागि भेरोसेल खोपको व्यवस्था छ। विदेश जाने नागरिकले गन्तव्य मुलुकमा खोप अनिवार्य गरेको डकुमेन्ट र विदेश जान लागेको अन्य कागजपत्र देखाउनु भयो भने पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन सक्नुहुन्छ। तर, जाने देशले खोप अनिवार्य गरेको हुनैपर्ने कन्डिसन राखिएको छ।’

उनले विदेश यात्रा गर्नेहरुका लागि छुट्टै खोप कार्डको व्यवस्था नभएको स्पष्ट पारे। अहिले सरकारले खोप लगाउँदा उपलब्ध गराउने खोप कार्ड बाहेक अन्य छुट्टै खोप कार्ड व्यवस्था गरिएको छैन। भेरोसेल खोप २१ दिनको अन्तरमा दुई डोज अर्थात पूर्ण खोप दिइने भएकाले विदेश यात्रा गर्ने केही समय अघि नै खोप लगाउन पनि डा शर्माले अनुरोध गरे।

प्रतिक्रिया